काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरीले साइकल चढेका एक व्यक्तिसँग अमर्यादित व्यवहार गरेको घटना सार्वजनिक भएपछि मेयर बालेन्द्र शाह (बालेन) आलोचनाको घेरामा परेका छन्।
बुधबार बिहान बालुवाटार क्षेत्रमा साइकलमा घर फर्किरहेका ती व्यक्ति र नगरप्रहरीबीच भएको विवादको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडिओमा नगरप्रहरी र ती व्यक्तिबीच साइकल खोसाखोस भएको देखिन्छ।
घटना सार्वजनिक भएपछि महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले अमर्यादित व्यवहार भएको स्वीकार गरेका छन्। पाण्डेका अनुसार उक्त क्षेत्रमा स्थानीयको गुनासोका आधारमा कवाड सङ्कलन गर्नेहरूलाई नियन्त्रण गर्न नगरप्रहरी खटाइएको थियो।
नगरप्रहरीको व्यवहारप्रति बढ्दो आलोचना भएपछि बालुवाटार क्षेत्रमा खटिएका इन्स्पेक्टर शम्भु विष्टलाई कारबाही गरिएको पाण्डेले जानकारी दिएका छन्। उनले साइकलमा सवार ती व्यक्तिको साइकल नखोसिएको र उनीहरुलाई घर पठाइएको दाबी पनि गरेका छन्।
यो घटनाले नगरप्रहरीको विगतका गतिविधिहरूलाई पुनः चर्चामा ल्याएको छ। नगरप्रहरीले यसअघि पनि फुटपाथ व्यवसायी र सर्वसाधारणलाई अमर्यादित व्यवहार गर्दै आएको आरोप लाग्दै आएको छ।
०७९ असारदेखि हालसम्म नगरप्रहरीले फुटपाथ व्यवसायीका ५४९ ठेला र ७१४ साइकल जफत गरिसकेको छ। केही समयअघि सांसद प्रभु साह र डा. अमरेशकुमार सिंहले पनि प्रतिनिधिसभामा बोल्दै कवाड व्यवसायीमाथि नगरप्रहरीले दमन गर्दै आएको भन्दै आपत्ति जनाएका थिए।
महानगरको यस्तो व्यवहारप्रति लगातार आलोचना भइरहेका बेला, नगरप्रहरी प्रमुख परिवर्तन भए पनि शैली फेरिएको देखिएको छैन।
Comments