चीनले अमेरिकामाथि थप ५० प्रतिशत भन्सार कर लगायो

Bhugolpark

२७ चैत्र, २०८१,०५:२८

काठमाडौं — अमेरिका र चीनबीचको व्यापार युद्ध फेरि चर्किएको छ। अमेरिकाले चीनबाट आयात हुने सामानमा कुल १०४ प्रतिशत भन्सार कर लगाएको जवाफमा चीनले पनि अमेरिकाबाट आउने सबै सामानमा थप ५० प्रतिशत भन्सार कर लगाएको छ। अब अमेरिका चीनमा ८४ प्रतिशत भन्सार तिर्नुपर्नेछ, जुन पहिले ३४ प्रतिशत मात्र थियो।

चीनको अर्थ मन्त्रालयका अनुसार नयाँ कर दर अप्रिल १० काे मध्यरातदेखि लागू हुनेछ। चीनले यो निर्णय अमेरिकाको 'अनुचित व्यापार नीतिका' विरुद्ध चालेको बताएको छ। यससँगै युरोपेली संघले पनि केही अमेरिकी सामानमा प्रतिशोधस्वरूप कर लगाउने घोषणा गरेको छ, जुन अप्रिल १५ देखि लागू हुनेछ।

चीनको निर्णयपछि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना कम्पनीहरूलाई अमेरिका फर्कन आह्वान गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै अमेरिकामा फर्किए शून्य भन्सार दर र तुरुन्त स्वीकृति पाइने बताएका छन्।

यस व्यापार तनावको प्रतिक्रियास्वरूप चीनले अन्य देशहरूलाई अमेरिका विरुद्ध एकजुट हुन अपीलसमेत गरेको छ। व्यापारिक नीतिका कारण विश्वव्यापी आर्थिक असर पर्ने अनुमान गरिँदैछ।


87 Views

Comments