अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि उठाएको रकम दुरुपयोग गरेको आरोपमा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) विरुद्धको उजुरी तामेलीमा राखेको छ।
तीन वर्ष लामो अनुसन्धानपछि आयोगले फाउन्डेसनले प्राप्त सहयोग रकम प्रक्रियागत रूपमा खर्च गरेको ठहर गर्दै उजुरी तामेलीमा राखेको हो। वाग्मती क्रिकेट संघका तत्कालीन कोषाध्यक्ष अनिल अधिकारीले २०७८ माघ २ गते धुर्मुस र सुन्तलीविरुद्ध अख्तियारमा उजुरी दिएका थिए। उनले फाउन्डेसनले संकलित चन्दा र सरकारी निकायबाट प्राप्त ५७ करोडभन्दा बढी रकम दुरुपयोग गरेको दाबी गरेका थिए।
तर, अख्तियारको अनुसन्धानबाट फाउन्डेसनले कुनै अनियमितता नदेखिएको बताइएको छ। “करिब तीन वर्षको अनुसन्धानपछि अख्तियारले उजुरी तामेलीमा राखेको हो,” सिताराम कट्टेलले बाह्रखरीसँग भने, “लाज शरणम्को छायांकन भइरहेको बेला डोल्पाबाट बयानका लागि अख्तियार आउनु परेको थियो। तामेलीमा राख्नु भनेको क्लिन चिट पाएजस्तै हो।”
आयोगले भने, अन्य प्रमाण फेला परेमा तामेलीमा राखेको उजुरीमा पुनः अनुसन्धान हुने कानुनी प्रावधान रहेको उल्लेख गरेको छ। आयोगको पत्रमा भनिएको छ, “निर्णय संख्या ७६७ बाट पछि थप प्रमाण फेला परेमा सोही बखत कानुनबमोजिम हुनेगरी हाललाई सो उजुरी तामेलीमा राखिएको व्यहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा (१३) बमोजिम सूचित गरिन्छ।”
यस घटनामा अब थप प्रमाणको खोजी हुनेछ र कानुनी प्रक्रिया जारी रहने छ।
Comments