कास्की १ मा जिल्ला प्रमुखबीच नै कडाप्रतिस्पर्धा

Bhugolpark

१५ कार्तिक, २०७९,०४:२८

कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा (एमाले) जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ । यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ चुनावी दौडमा हुनुहुन्छ । हुन त यस क्षेत्रमा अन्य दल स्वतन्त्र गरी १४ उम्मेदवार रहनुभएको छ । तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमाले उम्मेदवारबीच नै हुने देखिएको छ । कास्की–१ मा कांग्रेस र एमाले जिल्ला प्रमुखहरूको प्रतिस्पर्धा हुने भएकाले बराल र गुरुङमध्ये कसले बाजी मार्ने हो भन्ने विषय बढी चर्चामा छ ।

 कांग्रेस जिल्ला सभापति बराल गठबन्धन दलका तर्फबाट उम्मेदवार बन्नुभएको हो भने एमालेले जिल्ला अध्यक्ष गुरुङलाई उम्मेदवार बनाएको छ । यसअघि विसं २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा यो क्षेत्रबाट एमालेका खगराज अधिकारी विजयी हुनुभएको थियो । तत्कालीन समयमा अधिकारीले ३९ हजार दुई सय ४२ मत ल्याएर कांग्रेसका यज्ञबहादुर थापालाई पराजित गर्नुभएको थियो । थापाले २५ हजार आठ सय २६ मत ल्याउँदा १३ हजार चार सय १६ मतले हार व्यहोर्नुभएको हो । अधिकारी प्रदेशसभा सदस्यमा उम्मेदवार हुनु भएपछि प्रदेश सदस्य गुरुङलाई प्रतिनिधिसभामा उम्मेदवार बन्ने बाटो खुलेको हो । अघिल्लो निर्वाचनमा जितेकाले एमाले आफ्नो विरासत जोगाउन लागिपरेको छ । तर अघिल्लो चुनावको साझेदारी अहिले कायम छैन । अघिल्लो निर्वाचनको समीकरण बदलिएर बनेको कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धन उक्त विरासत भत्काउने लक्ष्यका साथ चुनावी गतिविधिलाई सक्रिय बनाएको छ । यसपटक जित्ने गरी तयारीमा जुटेको गठबन्धनबाट कांग्रेसका उम्मेदवार बरालले बताउनुभयो । स्थानीय तहको परिणाम र गठबन्धनमा रहेका दलको साथका कारण कास्की–१ मा आफूले जित्नेमा उहाँ ढुक्क हुनुहुन्छ । मूल प्रसार–प्रसारको काम भइरहेको प्रत्येक वडामा सम्पर्क कार्यालय खोलिरहेका छौँ, उहाँले भन्नुभयो, “जित्ने भन्ने त पक्का नै छ तर कति मतान्तरले जितिन्छ भन्ने कुरामा जोड दिएका छौँ । एमाले पनि अघिल्लो निर्वाचनको शाख जोगाउन लागि परिरहेको छ । कास्की क्षेत्र नं १ का जनताको सुख, दुःखमा साथमा रहेकाले आफ्नो विजयी सुनिश्चित रहेको एमालेका उम्मेदवार गुरुङले बताउनुभयो । कास्कीमा मेरो सङ्गठन बलियो पनि छ । मेरो क्षेत्रको जनताले मलाई चिनिसकेको छ, उहाँले भन्नुभयो, “मेरो काम र क्रियाशीलताले मैले जित्छु भन्नेमा ढुक्क छु । यस निर्वाचन क्षेत्रमा मादी र रुपा गाउँपालिकासहित पोखरा महानगरपालिकाका १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ गरी ११ वटा वडा पर्दछन् । यीमध्ये वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मादी गाउँपालिका कांग्रेस र रुपा गाउँपालिका एमालेले जितेको हो भने पोखरा महानगरको ११ वटा वडामध्ये एउटा वडा एमालेले १० वटा वडा कांग्रेसले वडाध्यक्ष जितेको थियो । क्षेत्र नं १ मा स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारको दलगत मतले कांग्रेस ठूलो दल देखिन्छ । गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्रसमेतको मत जोड्दा कांग्रेसलाई सहज देखिन्छ । स्थानीय निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले कुल ३३ हजार आठ सय ३७ मत प्राप्त गर्दा यस क्षेत्रमा एमालेका वडाध्यक्षले ३० हजार एक सय ९६ मत ल्याएको हो । यसबाहेक माओवादी केन्द्रका वडाध्यक्षले तीन हजार दुई सय ७८ पाएका थिए । सो क्षेत्रमा कुल एक लाख १० हजार सात सय १५ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । यस क्षेत्रमा प्रदेशसभा (क)मा ५८ हजार चार सय ४५ र प्रदेशसभा (ख)मा ५२ हजार दुई सय ७० मतदाता छन् । सूचना अधिकारी न्यौपानेअनुसार यस क्षेत्रको प्रदेशसभा सदस्यका लागि प्रदेशसभा (क)मा आठ र (ख) मा सात जना चुनावी प्रतिस्पर्धामा छन् ।


247 Views

Comments