रवि लामिछाने र छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो,अब रास्वपाले काठमाडौँ केन्द्रित आन्दोलन गर्ने

८ कार्तिक, २०८१,१४:३२

८ कात्तिक, गण्डकी । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । उहाँहरूलाई आज अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक बसन्तकुमार शर्माले जानकारी दिनुभयो । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दाका सम्बन्धमा लामिछानेलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याइएको थियो ।

थप अनुसन्धानका लागि पक्राउ परेको मितिदेखि लागू हुने गरी आइतबार छ दिनको म्याद थपिएको थियो । लामिछानेलाई पहिलो पटकको म्याद सकिएपछि आज पुनःअदालत उपस्थित गराइएको हो । पूर्वप्रहरी नायब महानिरीक्षक जोशी सोही सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा हुनुहुन्छ । पोखरामा लामिछानेका समर्थकका साथै सहकारी पीडितका छुट्टाछुट्टै प्रदर्शनका कार्यक्रम जारी रहेकाले सुरक्षा व्यवस्थालाई कडा बनाइएको प्रहरीले जनाएको छ ।

यसैबीच रास्वपाले अब काठमाडौँ केन्द्रित आन्दोलन गर्ने जनाएको छ । पोखरामा पार्टी अध्यक्ष रवि लामिछानेले तत्काल रिहाइको माग गर्दै ५ दिनदेखि निरन्तर आन्दोलन चर्काइरहेको रास्वपाले अब आन्दोलन बृहत गर्ने गरी काठमाडौँ केन्द्रित आन्दोलन गर्ने जनाएको हो ।

बिहीबार पोखरामा पत्रकार सम्मेलनमा रास्वपाका सहप्रवक्ता मनीष झाले कानूनपनि कानूनसम्मत भइदिनुपर्ने र राजनीतिक प्रतिशोध बन्द हुनुपर्ने बताए । उनले काठमाडौँको माइतिघर मण्डलामा हुने आन्दोलन पनि शान्तिपूर्ण हुने बताए ।

उनले संसदीय विशेष छानबिन समितिको ११२० पृष्ठ लामो प्रतिवेदनमा ४० सहकारीबाट ८७ अर्ब रुपैयाँ अपचलन भएको तथ्य बाहिरिएको स्मरण गराउँदै ८७ अर्बको कुरा नगर्ने खाली १५ प्रतिशतमात्र गोर्खा मिडियाको स्वीट शेयर लिएका लामिछानेलाई मात्र राजनीतिक प्रतिशोधका आधारमा थुन्न नहुने बताए । उनले राष्ट्रपतिको कानूनी सल्लाहाकार बाबुराम कुँवरसमेत मुछिएको उल्लेख गर्दै उनलाई सरकारले कारबाही नगरेको बताए ।

उक्त पत्रकारसम्मेलनमा सहकारी पीडिकको जायाजेथाबाट उसुलउपर गरी ८७ अर्ब सहकारी पीडितको रकम सरकारले फिर्ता नगरेसम्म सडक र सदन दुवैबाट अझ पीडितको आवाज सशक्त ढंगले उठाउँने बताए ।



171 Views

Comments