९ महिनामा भित्रिए ८ लाख बढी विदेशी पर्यटक

१६ आश्विन, २०८१,१६:३४

१६ असोज, काठमाडौँ । सन् २०२४ को ९ महिनामा ८ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बारसम्म ८ लाख १६ हजार ३ सय ३९ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा सन् २०२३ को तुलनामा ६ प्रतिशत र सन् २०१९ को तुलनामा ४ प्रतिशतले पर्यटक आगमन बढेको छ ।

अगष्ट महिनाको तुलनामा सेप्टेम्बारमा भारतबाट नेपाल आउने पर्यटक घटेका छन्भने चीनबाट आउने बढेका छन् । अमेरिकी र युरोपियन मुलुकबाट आउने पर्यटक भने बढेका उहाँले बताउनुभयो । सेप्टेम्बारमा भारतबाट २२ हजार ९ सय ८४ र अगष्टमा २५ हजार ८ सय ३२ पर्यटक नेपाल आएका छन् । चीनबाट सेप्टेम्बारमा ८ हजार ४२ र अगष्टमा ६ हजार ६ सय १४ पर्यटक आएका निर्देशक लामिछानेले जानकारी दिनुभयो । मनसुनका कारण भारतीय पर्यटक घटेका हुनसक्ने अनुमान गरिएको छ ।

अमेरिकाबाट अगष्ट ५ हजार ६ र सेप्टेम्बारमा १० हजार ८४ पर्यटक नेपाल भित्रिएका छन् । श्रीलङ्काबाट सेप्टेम्बरमा ४ हजार ९ सय १५ र अगष्टमा ४ हजार ८ सय ५१ पर्यटक नेपाल आएका थिए । बोर्डका अनुसार गत अगष्टमा मात्र ७२ हजार ७ सय १९ पर्यटक नेपाल आएका थिए । सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार १२, सन् २०२२ को सोही अवधिमा ५८ हजार ३ सय १४, सन् २०२१ को सेप्टेम्बारमा ९ हजार ९ सय ७ र सन् २०१९ मा ९२ जार ६ सय ४ पर्यटकले नेपाल भ्रमण गरेका बोर्डले जनाएको छ ।

कुन महिनामा कति पर्यटक

मार्चमा सबैभन्दा बढी १ लाख २८ हजार १ सय ६७ र सबैभन्दा कम जुलाईमा ६४ हजार ५ सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अप्रिलमा १ लाख ११ हजार ३ हजार ७६, सेप्टेम्बरमा ९६ हजार ३ सय ५, जनवरीमा ७९ हजार १ सय, फेब्रुअरीमा ९७ हजार ४ सय २६, मेमा ९० हजार २ सय ११, जुनमा ७६ हजार ७ सय ३६ र अगस्टमा ७२ हजार ७ सय १९ पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।



123 Views

Comments