१४ असोज,रामेछाप । उर्जा, सिंचाई तथा जलश्रोत राज्यमन्त्री पूर्णबहादुर तमाङ (कान्छाराम) रामेछापबाट विसं. २०७९ को आम निर्वाचनमा ४० हजार ९९ मत ल्याएर प्रतिनिधि सभामा विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वधी कैलाश ढंगेलले ३० हजार ७२९ मत ल्याउँनुभएको थियो । उहाँ निर्वाचित हुनुमात्र भएन, नेपालको चौथो सर्वाधिक धेरै मतान्तरले जित्न सफल नेताको रुपमा दर्ज हुनुभयो । रामेछापबाट विसं. २०७४ को आम निर्वाचनमा भने ३५ हजार ७७१ मत ल्याएर पनि एमाले र माओवादीको साझा उम्मेदवार श्यामकुमार श्रेष्ठ (कुशल)सँग ३ हजार १०० मतान्तरले पराजित हुनुभयो । उहाँलाई असन्तुष्ट कांग्रेसीहरूले सो बेला अन्तरघात गरे, नत्र भने उहाँले जित्ने सुनिश्चित थियो भन्नुहुन्छ उहाँका शुभचिन्तकहरू ।
विसं. २०२२ साउन २३ गते रामेछाप जिल्लाको गोकुलगंगा-१,चुचुरेमा सामान्य परिवारमा जन्मनुभएको पूर्णबहादुर तमाङ (कान्छाराम) आध्यात्मिकतामा विश्वास राख्ने निडर,प्रष्टवक्ता एवं सफल व्यवसायी हुनुहुन्छ । मानवसेवा सबैभन्दा ठूलो धर्म हो भन्नुहुने उहाँले निजी स्रोतबाट १३ वटा एम्बुलेन्स र एउटा सवबाहान दान गरिसक्नुभएको छ । उहाँको पिता सुर्ति व्यापारी र हजुरबुबा फलामको व्यापारी हुनुहुन्थ्यो । विसं. २०३४ सालमा आमासँग काठमाडौँ छिर्नुभएको उहाँ गाउँ फर्केर विसं. २०३८ सालमा काठमाडौँ पुन: २/४ महिना काठमाडौँ बस्नुभयो । विसं. २०४० सालदेखि २०४४ सालसम्म विभिन्न कन्ट्रक्सन कम्पनीमा काम गर्नुभयो । उहाँले विसं. २०४४ सालमा कान्छाराम कन्ट्रक्सन कम्पनी दर्ता गर्नुभयो । तृष्णा वुद्धि र कडा मेहेनतले गर्दा एकपछि अर्को कन्ट्रक्सन कम्पनीमा सफलता मिल्यो । जसले गर्दा सफल निर्माण व्यवसायी बन्न सफल हुनुभएको छ ।
उहाँ विसं. २०३६ सालदेखि नेपाली कांग्रेसमा आवद्ध हुनुभयो । विसं. २०३८ सालमा बहुदलीय व्यवस्थाको पक्षमा वकालत गर्दा उहाँको तत्कालिन उपप्रधानपञ्चसँग झगडा पर्यो । जसले गर्दा उहाँसहित ७ जनालाई पञ्चायती शासकले मुद्दासमेत लगाएको थियो । तरपनि निडर स्वभाबका कान्छाराम ३५ लुकिछिपी बसेर गाउँ फर्कीनुभयो । विसं. २०६७ सालको बाह्रौँ महाधिवेशन प्रतिनिधि बन्नुभएको उहाँ विसं. २०७० सालमा समानुपातिक बन्द सूचिमा ३३५ भित्र पर्न सफल हुनुभए पनि छनोट भने हुन सक्नुभएन् । त्यस्तै तेह्रौँ महाधिवेशनमा महासमिति सदस्य बन्नुभएको उहाँ चौधौँ महाधिवेशनमा आफ्ना सहकर्मी लवश्री न्यौपाने र कृष्ण महतलाई पहिलो चरणमा नै पराजित गरी जिल्ला सभापतिमा निर्वाचित हुनुभयो । हाल उहाँ जिल्ला सभापतिमा कार्यरत हुनुहुन्छ ।
उनै समाजसेवी एवं विकासप्रेमी जुजारु नेता, प्रतिनिधि सभाका सांसद एवं उर्जा, सिंचाई तथा जलश्रोत राज्यमन्त्री तामाङसँग “समकालिन संवाद”मा भूगोलपार्कको समाचारदाता करुण सिंले गरेको कुराकानीका सम्पादित पहिलो अंश:
असोज १० गते बेलुकादेखि १२ गतेसम्म निरन्तर परिरहेको अविरल वर्षाका कारण मुलुकका अधिकांश भागमा बाढी, पहिरो र डुवानको प्रकोपले ठूलो मात्रमा जनधनको क्षति पुर्याएको छ । त्यसैगरी रामेछापको खुर्कोटमा पनि सुनकोशीले पक्कि पुल बाढीले बगाएको छ भने रोशी खोलाले बिपी राजमार्गमा धेरै क्षति पुर्याएको छ । यस विषयमा राज्यमन्त्री ज्यूको धारणा के छ ?
हो, देशमा अकल्पनीय वर्षाको कारण रामेछापको खुर्कोटमा सुनकोशीले पक्कि पुल बाढीले बगाएको छ भने रोशी खोलाले बिपी राजमार्गमा धेरै क्षति पुर्याएको छ । यस विषयमा मैले हिजो बेलुका ८ बजे भौतिक पूर्वाधारमन्त्री ज्यूसँग मिटिङ बसिसकेको थिए । म देशकै राज्यमन्त्रीको हैसियतले रामेछापलाई मात्र नहेहेर ७७ जिल्लाको क्षतिलाई नियाली रहेको छु । मैले ७७ जिल्लाका जनताहरूले दैवीप्रकोपबाट झेल्नुपरेको समस्यालाई तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयका मन्त्री ज्यूसँग मिटिङ बसेको छु । राज्यमन्त्रीको हैसियतले छिटोभन्दा छिटो पुनर्निर्माण गरी जनतालाई सेवाप्रदान गर्न सकियोस भन्ने हेतुले अहोरात्र खटिरहेको छु । म हिजो राति पनि सुतेको छैन् । आज मात्र पनि रामेछापको सिडियो सापलाई सडक सुचारु नहुन्जेल मन्थलीमा हवाईमार्गबाट आवातजावत गर्ने वातावरण मिलाउँन र वैकल्पिक सडक मार्गबाट काठमाडौँमा आवतजावत गर्न सक्ने गरी अविलम्ब काम थाल्न निर्देशन दिएको छु ।
नेपालीको महान चाड दशैँ नजिकिएकाले गर्दा तत्काल सुनकोशीले बगाएको पक्कि पुलको ठाउँमा बेलीब्रिज निर्माण गर्नका लागि पहल गरेको छु । हेटौडामा तयारी अवस्थामा सडक विभागको एउँटा बेलिब्रिज रहेछ । आजै हेटौडा जाने सोच पनि बनाएको छु । त्यसलाई ल्याएर सो ठाउँमा हाल्ने सोच बनाएको छु । बेलिब्रिजको नटबोल्ट र फिट गर्ने मानिस खोजिरहेको छु । सकेसम्म रातादिन नभनी काम गर्छु । त्यसका लागि मरिनड्राईभरसनका दुईटा क्रेन तयार गरेर राखेको छु । जतिसक्दो छिटो रामेछापमा बाटो खोल्न लाग्नेछु ।
विकासको आधुनिक पूर्वाधारको रुपमा रहेको जलविद्युत आयोजनाहरू, सिंचाईका निर्माणाधिन तथा निर्माणा सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाहरूमा पनि बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ । ११०० मेगावाट विद्युतमा क्षति भएका कारण भारतबाट ३०० मेगावाट विजुली आयात गरिएको छ । यस विषयमा उहाँको धारणा के छ ?
उत्पादन तर्फ
जलवायु परिवर्तनको असरले गर्दा अहिलेसम्म मलाई जानकारी भएअनुसार कुल ६२५.९६ मेगावाट जडित विद्युत क्षमताको ११ वटा सञ्चालनमा रहेका विद्युतमा आयोजनामा क्षति भएको छ । आपतकालिन अवस्थालाई मध्यनजर गर्दै ११०० मेगावाट बराबरको विद्युत उत्पादन रोकीएको छ । त्यस्तै १०१०.२९ मेगावाट जडित विद्युत क्षमताको १५ वटा निर्माणाधिन जलविद्युतमा आयोजनामा क्षति भएको छ । आयोजनामा पुगेको क्षति हालसम्म प्राप्त तथ्यांक अनुसार करिब २.४५ अर्ब रहेको छ ।
प्रसारण लाइनतर्फ
काबेली कोरिडोर अन्तरगतको दमक-गोदक १३२ के.भी. प्रसारण लाइनको ५०, ५१ र ५२ नंम्बरको टावरमा क्षति भएको छ । त्यस्तै खिम्ति-लामोसाँगु १३२ के.भी. प्रसारण लाइनको १२ वटा टावरमा क्षति भएको छ । सोलु कोरिडोर ३३ के.भी. प्रसारण लाइन ३ वटा पोल ढलेको छ ।
वितरण तर्फ पनि ७ वटै प्रदेशमा धेर थोर क्षति भएको सुनेको छु । उत्पादन तर्फ, प्रसारण लाइनतर्फ र वितरण तर्फ छिटो काम सम्पन्न गर्न भन्दै नेपाल विद्युत प्राधिकरणका निर्नेशक कुलमान घिसिङलाई निर्देशन गरी सकेको छु । मैले दिएको निर्देशनअनुसार काम भए नभएको समेत अनुगमन गरिरहेको छु ।
हाम्रो देशले बढी भएको विजुली भारतलाई बेचिरहेको छ । तर अविरल वर्षाको कारण कतिपय आयोजनामा क्षति भएको एवं कतिपय आयोजनामा क्षति नहोस भनी आपतकालिन अवस्थालाई मध्यनजर गर्दै ११०० मेगावाट बराबरको विद्युत उत्पादन रोक्नु पर्यो । जसले गर्दा भारतबाट ३०० मेगावाट विजुली आयात गरिएको हो । तरपनि हाम्रो देशमा उत्पादित विजुली भारतमा बेचेर विद्युत प्राधिकरणले अरबौँ नाफा कमाइ सकेको यहाँहरूलाई नि सर्वविधितै छ । हामीले भारतको अलवा बंगलादेशमा पनि तत्कालका लागि ४० मेगावाट विद्युत निर्णात गर्दै छौँ । नेपाल र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीच यही असोज १७ गते विहिबार सम्झौता हुँदै छ । यसअघि असोज १५ गते मंगलबार सहसचिव स्तरिय बैठक बस्दैछ । उर्जा, सिंचाई तथा जलश्रोत मन्त्रालयका चिरञ्जिवी चटौतले गर्नेछन् । भोलि असोज १६ गते बुधबार सचिवस्तरिय बैठक बस्नेछ ।
यो ऐतिहासिक सम्झौतामा नेपालका तर्फबाट ऊर्जामन्त्री दिपक खड्का भारतका विद्युतमन्त्री मनोहर लाल र बंगलादेशको ऊर्जा तथा खनिज राज्यमन्त्री नसुरुल हमिदको उपस्थित हुनेछ । प्राधिकरणले बंगलादेशलाई विद्युत विक्रि गर्दा प्रतियुनिट अमेरिकी डलर ६.४० सेन्ट पाउनेछ । हामीले वर्षायाममा उत्पादन भएको विद्युत बंगलादेशलाई बेच्न लागेका हौँ ।
दुई देशबीच सम्झौता भएपछि भारतको समेत समर्थनमा त्रिपक्षीय सम्झौता गर्नुपर्ने हुन्छ । सो काम छिटो गर्न म लागि परेको छु ।
नेपाल विद्युत प्राधिकरणका निर्नेशक कुलमान घिसिङलाई सरकारले हटाउन खोजेको, अनावश्यक बखेडा झिकेर काम गर्न बाधा पुर्याएको भन्ने सुनिन्छ नि ?
यो भ्रामक हल्ला मात्र हो । आजमात्र पनि किर्नेको सवस्टेशन वगाएकाले मन्थली अन्धाकार भएको विषयमा मैले कुलमानसँग छलफल गरेको छु । १२ वटा खम्बा बनाएर आजै २/३ बजे भित्र सदरमुकाममा बत्ति बाल्ने योजना बनाएका छौँ । रामेछापमा मात्र नभएर देशभर विद्युत सुचारु गर्न द्रुत गतिमा विद्युत आयोजनामा पुन: सञ्चालन गर्न,प्रसारणलाईनको पुनर्निर्माण गर्न निर्देशन दिएका छौँ । यसको अनुगमनसमेत गरिरहेका छौँ ।
सुविधासम्पन्न देशको राजधानी काठमाडौँ उपत्यकामा व्यापक मात्रमा धनजनको क्षति भएको छ । यसको कारण के होला ?
मन्त्री र कर्मचारीसँग अनुभवको कमीले गर्दा एवं “जसो पर्ला तसो टर्ला” भन्ने उखानझैँ समयमा समिक्षा नगर्नुको परिणाम हो । बाढीले बगाउँनु र डुवाउँनुको अर्को कारण भनेको ललितपुर, भक्तपुर र काठमाडौँ गरी जम्मा १६ वटा खोला र साखा खोलाहरू छन् । पहाडबाट आउँने खोलामा फोहोर फ्याँकिदिनाले एवं बाढीले बगाएर ल्याएको बालुवा वर्सौँसम्म थुप्रिदै जानाले विस्तारै नदीको सतह वढ्दै गयो । जसले गर्दा नदीको गहिराई कम हुन गई बस्ति बगाउँदै तीन जिल्लाका धेरै भूभाग डुवानमा परेको हो ।
राज्यले अब यसतर्फ सोच्ने बेला भएको छ । बागमती नदीमा मनोहरादेखि चोभारसम्म ४ मिटर र अन्य सहायक नदीमा ३ मिटर गहिराईमा खन्नेर ढलान गर्न सक्यो भने यसको दृर्घकालिन समाधान हुन्छ । यसको लागि नगरपालिकाले गर्नेकी, सडक विभागले गर्ने वा सहरी विकास मन्त्रालयले गर्ने एकिन गर्नुपर्छ । मेरो विचारमा सहरी विकास मन्त्रालयले नगरपालिका र सडक विभागको सहकार्यमा गर्दा ठिक हुन्छझैँ लाग्छ । नगरपालिकाले ७० प्रतिशत कर लिने र संघलाई ३० प्रतिशत मात्र कर बुझाउँने गरेकाले उसको पनि दायित्वभित्र पर्छ ।
सर्वोच्च अदालतले काठमाडौँको नदी किनारको दायाँवायाँ २० मिटर छोडेर मात्र घर बनाउँन भनेको छ । यस विषयमा यहाँको धारणा के छ ?
सम्मानित अदालतको फैसलालाई कार्यान्वयन गर्ने हो भने करिव राज्यले १ खरब मुअव्जा दिनुपर्छ । तर मैले गरेको डिजाइनअनुसार काम गर्ने हो भने ५ देखि ७ अरबको बजेट पर्याप्त हुन्छ । यसतर्फ राज्यले अविलम्व सोच्नु अपरिहार्य देखिन्छ ।
तपाईले केहि दिन पहिला गर्नुभएको सुदूरपश्चिम भ्रमण कस्तो रह्यो ?
मैले सुदूरपश्चिम प्रदेशको राष्ट्रिय गौरवको आयोजना असोज ७ देखि ९ गतेसम्म अवलोकन गरे । सो अवधिमा महाकालि, सिक्टा, वनबास, रानीजम्मार, भेरी ववई आदि सिंचाई तथा हाइड्रोपावर आयोजना हेरे । यदि उपत्यकाको झैँ सो ठाउँमा पानी परेको भए । पैसा त २/३ खरबको क्षति हुन्थ्यो त्यो भन्दा ठूलो कुरा व्यापक धनजनको क्षति हुनजान्थ्यो । त्यहाँ यो पटक भगवानले उनीहरूलाई जोगाइदिएको मलाई अनुभूति भएको छ । अन्तर्वाताका बाँकी भाग क्रमश:सम्पादन गर्दै जानेछौँ । हेर्न नभूल्नुहोला ।
Comments