अविरल वर्षाः ४४ जनाको मृत्यु, १२ जना बेपत्ता

१२ आश्विन, २०८१,१५:३६

१२ असोज, काठमाडौँ । अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी देशभर ४४ जनाको मृत्यु भएको छभने १२ जना वेपत्ता भएका छन् । बाढी, पहिरो र घर भत्केर काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको छभने १२ जना बेपत्ता भएका छन् । । बाढीपहिरोबाट काठमाडौँमा ४ घर भत्किएका छन्भने २ सय २६ घर डुबानमा परेका छन् । काठमाडौँ उपत्यका बाहेक देशका विभिन्न भागमा १२ जनाको मृत्यु भएको छ सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि १ हजार ९ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा ३२ जना तथा उपत्यका बाहिर १२ जनाको मृत्यु भएको छ । १ सय ६२ स्थानमा भौतिक क्षति भएको छ । सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा र्याफ्टिङ बोट परिचालन गरेको छ । सशस्त्रको टोलीले ७ सय ६० जनाको सकुशल उद्धार गरेको सहप्रवक्ता थापाले जानकारी दिनुभयो ।

काठमाडौँमा ११ जनाको मृत्यु भएको छभने १ जना बेपत्ता भएका छन् । त्यसैगरी ललितपुरमा १६ जनाको मृत्यु भएको छभने ११ जना बेपत्ता भएका छन् । भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना घाइते भएका छन् ।

उपत्यका बाहिर काभ्रेपलाञ्चोकमा ६, पाँचथर र धनकुटामा २–२, झापा र धादिङमा १–१ जनाको मृत्यु भएको छ ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीस्थित सुष्मा बिपी कोइराला नेत्र प्रतिष्ठानमा पानी जमेपछि उपचारारत १८ जना अपाङ्गता भएका बालबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

बाढीपहिरोबाट काठमाडौँमा ४ घर भत्किएका छन्भने २ सय २६ घर डुबानमा परेका छन् । ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ । विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा ३ हजार ६०, ललितपुरमा ९ सय ३० र भक्तपुरमा १ सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । यसैबीच विपद्को जोखिमका आधारमा काठमाडौँमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्तिसमेत परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले भूगोलपार्कलाई दिनुभएको जानकारी दिनुभयो ।

आज बेलुकादेखि वर्षा कम हुँदैजाने मौसमविदले जनाएका छन् ।


185 Views

Comments