स्थानीय तह उपनिर्वाचन : २ मंसिरमा उम्मेदवारी दर्ता

१० आश्विन, २०८१,१६:२८

१० असोज, काठमाडौँ । निर्वाचन आयोगले जिल्ला समन्वय समिति प्रमुख २, नगरपालिकाका मेयर र उपमेयर १/१, गाउँपालिका अध्यक्ष २, गाउँपालिका उपाध्यक्ष ३ र ३० वडाध्यक्षका लागि मंसिर १६ गते उपनिर्वाचन हुने जनाएको छ । आयोगका अनुसार अन्तिम मतदाता नामावली प्रकाशित भएको मितिसम्ममा यी कुनै पदमा रिक्त भएमा मंसिर १६ गतेनै उपनिर्वाचन हुने जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार मंसिर २ गते बिहान १० बजेदेखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको सूचि प्रकाशन हुनेछ ।

मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ । सोही दिन दिउँसो ३ बजेदेखि ४ मंसिर बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ हुनेछ । ४ मंसिरकै दिन बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

उम्मेदवारी फिर्ताको लागि मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । सोही दिन दिउँसो १ देखि ३ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।

स्थानीय तह उपनिर्वाचन भने मंसिर १६ गते बिहान ७ बजेदेखि ५ बजेसम्म हुनेछ ।



111 Views

Comments