७ असोज, काठमाडौँ । क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको किङ सिटीमा आज बिहान सम्पन्न खेलमा नेपाल क्यानडासँग पाँच विकेटले पराजित भएको हो । त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपाल क्यानडासँग १ सय ३ रनले पराजित भएको थियो । आज १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
क्यानडाका लागि नाभिनित धालिवाल र प्रगत सिंहले अर्धशतक पूरा गरे । ओपनर आरोन जोन्सन खाता नखोल्दै आउट भएका थिए भने अर्का ओपनर धालिवाल र प्रगतले दोस्रो विकेटका लागि १ सय २२ रनको उत्कृष्ट साझेदारी गरे । धालिवालले टोलीका लागि सर्वाधिक ८७ रनको योगदान दिए । उनले १ सय १३ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ८७ रनको योगदान दिए । त्यसैगरी प्रगतले ८३ बलमा ७ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाएका थिए । हर्ष ठाकरले १३ रन जोड्दा निकोलस किर्तनले अवितिज ११ रन बनाएका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने करण केसी, गुलसन झा र ललित राजवंशीले समान एक–एक विकेट लिएका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १ सय ८१ रनमा समेटिएको थियो । टोलीका लागि सन्दीपले ४८ बलमा सर्वाधिक ४९ रन जोडेका थिए । उनले ५ चौका र १ छक्का प्रहार गरेका थिए । सन्दीपको एकदिवसीय करिअरको यो उत्कृष्ट ब्याटिङ हो । यसअघि उनले सन् २०२३ मा पपुवा न्यूगिनीसँगको खेलमा ५० बलमा अविजित ३५ रन बनाएका थिए । यसैगरी, गुल्सन झाले ५६ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३४ रन बनाए । करण केसीले २४ रन बनाउँदा सोमपाल कामीले २१ रन जोडे । यसैगरी अर्जुन साउद र आरिफ शेखले समान १०–१० रन बनाए भने भीम सार्की र कप्तान रोहित पौडेलले समान चार–चार रन बनाए ।
बलिङतर्फ क्यानडाका कालीम सानाले ३ विकेट लिए भने हर्ष ठाकेर र दिलोन ह्यालिगरले समान दुई–दुई विकेट लिए । त्यसैगरी प्रभिन कुमार र सादविन जफरले समान एक–एक विकेट लिए । त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेल नेपालले मगलबार ओमानसँग खेल्नेछ ।
Comments