इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै

३१ भाद्र, २०८१,१०:४०

३१ भदौ, काठमाडौँ । इस्लाम धर्मावलम्बी आज धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती मनाउँदैछन् । इस्लाम परम्पराको हिजरी संवत् अनुसार रवि–उल–अव्वल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको जन्मदिन मानिन्छ । इस्लाम धर्मवलम्बी यस महिनाको ९ तारिखदेखि नै उत्सवमय वातावरणमा ‘मोहम्मद डे’ अर्थात् मोहम्मदको जन्मदिन मनाउँछन् ।

मुस्लिम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्तीमा अहिले बस्ती सरसफाइ, रङरोगन र जताततै झिलीमिली बत्ती जडान गरिएका छन् । काठमाडौँलगायत तराईका अधिकांश बस्ती मुस्लिम बसोबास बाहुल्य रहेको बस्तीबस्तीमा इस्लाम धर्मावलम्बीले सद्भाव र्यालीको आयोजना गर्दै छन् । सबैप्रति उच्च सम्मान, आपसी एकता, परोपकार र अहिंसा यस पर्वको मुख्य सन्देश मानिन्छ । पर्वमा एकाबिहानै नुहाइधुवाइ गरेर विशेष नमाज (प्रार्थना) गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (ईश्वर) को पुकारा गर्दै हजरत मोहम्मद पैगम्बरका उपदेश सुन्छन् । ईद मिलाद नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने चलन छ । पर्वमा मिष्टान्न परिकार खाने खुवाउने चलन छ ।

यो पर्वले सबैप्रति रहम (करुणा) गर्न र संसारभरिका मानवजातिसम्म हजरत मोहम्मद पैगम्बरको शुभ सन्देश पुर्याउँदै धार्मिक सद्भावका लागि अपिल गरिनु मुख्य पक्ष भएको मुस्लिम धर्मालम्बी बताउँछन् । यसै अवसरमा सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।



85 Views

Comments