नझुक्किनुस्, याे भिडियाे पूर्व राजाको समर्थनमा निस्केकाे जुलुसको हाेइन, धरानमा भएकाे दाैडकाे हाे

Bhugolpark

२८ भाद्र, २०८१,११:१२

सडकमा दर्जनाै मानिस दाैडिरहेको दृश्य भएको भिडियो टिकटक, एक्स लगायतका सामाजिक सञ्जालमा फैलिएको छ । उक्त पोष्टमा भिडियोको दृश्य पूर्व राजाको समर्थनमा निस्केको जुलुसको भन्ने दावी गरिएको छ । तर हामीले गरेको तथ्य जाँचमा सो भिडियो गत फागुन १० गते धरानमा भएको म्याराथुन दाैडको भिडियो भएको फेला परेको छ ।

छोटो भिडियो क्लिपमा दुईजना बीच यस्तो स‌म्वाद सुनिन्छ : 

“सर यो कहाँबाट आउनु भो ? यहीँको मात्र हो कि ? कहाँबाट उपस्थित छ यहाँ जनताको ?”

“तपाईले देखिरहनु भएको छ, लोकतन्त्र गणतन्त्र पूरै फेल भइसकेपछि अब राजस‌‌‌ंस्था नभइकन देश अगाडि बढ्न सक्ने भएन भन्ने लागिसकेपछि सबै जनताहरू सडकमा उत्रिनु त स्वाभाविक हो नि । त्यो हिसाबले गर्दाखेरी जनताहरु स्वतस्फुर्त रूपमा । यो कुनै पनि मासुभात दिएर, कुनै पनि पैसा दिएर, कुनै प्रलोभन देखाएर यहाँ उपस्थिति भएको होइन ।”

गत फागुन १२ गते @kapil_brother नामक टिकटक प्रयोगकर्ताले “अब के हुन्छ राजा आऊ देश बचाऊ भन्दै निस्किएको जनसागर” भन्दै सो भिडियो सेयर गरेका थिए । त्यसको भोलिपल्ट उनले सोही भिडियो “१९ गते राजा ल्याउने भनेर हजाराैँ युवा उतारे प्रसाईले । फेरि सि‌ंह बनेर होमिए सडकमा दुर्गा प्रसाई ” भन्दै टिकटकमा सेयर गरेका छन् । २७ हजारभन्दा बढी फलोअर भएका उनका ती पोष्ट हजाराैँ पटक हरिएको छ ।

सोही भिडियो फागुन १२ गते एक्समा @kiranjoshi235 नामक प्रयोगकार्ताले पनि सेयर गरेका छन् । 

के हो त पूर्व राजाको समर्थनमा निस्केको जुलुसको भन्ने दाबी गरिएको भिडियोको वास्तविकता ? 

हामीले उक्त भिडियोको स्क्रिनसट गुगल लेन्समा अपलोड गर्याै । तर त्यसमा उक्त भिडियो फेला परेन । 

सत्यापनका क्रममा हामीले भिडियोमा देखिएको “धरान रन २०२४” भन्ने शब्द र वरिपरीका दृश्यका आधारमा थप खाेज्याैँ । त्यस क्रममा सोही भिडियो न्यु इन्टरटेनमेन्ट च्यानल नामक युट्युब अकाउन्टले “धरान १० के रन हर्क साम्पाङ” भन्दै गत फागुन १० गते सेयर गरेको पाइयो । 

यस सम्बन्धी थप खाेज्दा सो दाैड प्रतियोगिता बा रे समाचार प्रकाशित भएको फेला पर्यो । धरानको कोशीपत्रका अनुसार १२ औँ संस्करणको उक्त प्रतियोगितामा करीब ४ हजार धावक धाविका सहभागी थिए । प्रतियोगितामा सहभागीलाई पुरस्कार समेत दिइएको थियो । सो दाैड प्रतियोगिताको भिडियो फेसबुक लाइभ र अन्य युट्युब च्यानलले पनि सेयर गरेकाे पाइयो ।

तसर्थ पूर्व राजाको समर्थनमा निस्केको जुलुसको भिडियो भन्ने दाबी गरिएको सामग्री भ्रामक छ। 


15 Views

Comments