विचारःमौलाउँदै नेपालमा खेलकुद पत्रकारिता

२६ भाद्र, २०८१,१७:०१

२६ भदौ, काठमाडौँ । एसियाका खेलकुद पत्रकारहरूको सङ्गठन एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपिएस एसिया) को २५औँ कङ्ग्रेसमा सहभागी हुन नेपाल आएका विभिन्न २८ देशका खेल पत्रकारहरूले खेलकुद पत्रकारिताको स्थितिको छलफल गर्नाका साथै नेपालको खेलकुद पत्रकारिताको समग्र अवस्थाका बारेमा विचारविमर्श गर्दैछन् ।

नेपालमा पहिलोपटक यो कङ्ग्रेस आयोजना भएको हो । यस कङ्ग्रेसका अवसरमा नेपालमा खेलकुद पर्यटन, इस्पोर्टस, महिला खेलकुद आदि विषयमा पनि छलफल हुने कार्यक्रम छ । विभिन्न मुलुकका खेल पत्रकारहरूको भेलाले पारित गर्ने निर्णयबाट नेपालको खेल क्षेत्र पनि लाभान्वित हुने अपेक्षा गरिएको छ ।

नेपालमा खेलकुद पत्रकारिता बिस्तारै स्थापित हुँदैछ । विगतमा कम प्राथमिकतामा पर्ने गरेको खेलकुदसम्बन्धी समाचारले हिजोआज सञ्चारमाध्यमहरूमा यथोचित स्थान पाउँदै आएका छन् । सञ्चारमाध्यमहरूले खेलकुदसंग सम्बन्धित प्रमुख घटनाहरू समाचारमा दिन छुटाउँदैनन् । विगतको भन्दा खेलकुद पत्रकारिता परम्परागत माध्यम तथा नयाँ माध्यममा विभाजित भएको छ । मल्टी मिडियामा अभ्यस्त युवाहरू खेल पत्रकारितामा कार्यरत भइरहेका छन् ।

यसैगरी, टेलिभिजन तथा सामाजिक माध्यम ‘फेसबुक’ तथा ‘युट्युब’मा खेलकुदको प्रत्यक्ष प्रसारणको क्रम पनि बढिरहेको छ । विभिन्न मुलुकमा भएका खेलकुद प्रतियोगिताहरूको प्रत्यक्ष प्रसारण आ–आफ्नो रुचिअनुसार हेर्न सकिने भएको छ । श्रव्य माध्यम रेडियोमा पनि पहिले कसले गोल गर्यो जस्ता समाचार ‘ब्रेक’ गर्ने होड चलेको छ । मोबाइल फोन बोकेर खेलमैदान नजिक ‘प्यारापिट’मा बसिरहेका खेल समाचारदाताले खेलको महत्वपूर्ण क्षणको ‘लाइभ रिपोर्टिङ’ गर्नसक्ने अवस्था सिर्जना भएको छ । ‘इन्टरनेट’को माध्यमबाट विश्वका विभिन्न स्थानमा सञ्चालन भइरहेका महत्वपूर्ण खेलकुद प्रतियोगिताको अद्यावधिक गर्न सकिने भएको छ । प्रविधिको विकासले खेलकुदको पहुँच दिनदिनै बढिरहेको छ ।

नेपालका प्रायः सबैजसो दैनिक अखबारले खेलकुदसम्बन्धी सामग्री प्रकाशित गर्नका लागि दिनहुँ निश्चित पेज छुट्याउने गरेका छन् । यसैगरी, रेडियो तथा टेलिभिजनका समाचारमा पनि खेलकुद समाचारका लागि ‘प्राइम बुलेटिन’लगायत अन्य बुलेटिनहरूमा समय निर्धारण गर्ने गरिएको छ । अनलाइन समाचार पोर्टलहरूमा पनि खेलकुद समाचार ‘ब्रेकिङ न्युज’का रुपमा दिइने क्रम बढदै गएको छ । विगतमा सीमित टेलिभिजनले गर्ने गरेको खेलकुद प्रतियोगिताको लाइभ अहिले अनलाइन पोर्टलहरूले समेत व्यापक मात्रामा गर्ने गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता भएको बेलामा युट्युबमा नेपाली भाषामै ‘कमेन्ट्री’ गरिएका विभिन्न ‘साइट’ पनि देख्न सकिन्छ । पहिले रेडियो तथा टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा उद्घोषण गर्नेहरू सीमित व्यक्ति हुने गरेका थिए भने अब त्यस्ता खेल पत्रकारहरुको सङ्ख्या बढ्दो छ ।

खेल पत्रकारिताको भूमिका

खेल पत्रकारले खेलकुद प्रतियोगिताका प्रतिस्पर्धात्मक अवस्थाको चित्रण गर्दै खेलाडीहरूको सफलता तथा असफलताबारे जानकारी गराउने गर्दछन् । यसैगरी, खेलकुदसँग सम्बन्धित निकायहरूका गतिविधि, ती निकायका कमीकमजोरीका साथै सुधारका मार्गतर्फ अग्रसर गराउने कार्यमा पनि खेलकुद पत्रकारिताले भूमिका निर्वाह गर्दछ ।

नेपाली खेलकुदजगत्लाई गतिशील तथा चलायमान बनाउन खेल पत्रकारहरूको ठूलो भूमिका रहँदै आएको छ । खेल पत्रकारहरूको निरन्तर समाचार सम्प्रेषणबाटै प्रोत्साहित हुँदै खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफलता प्राप्त गर्दै आइरहेका छन् । यस अर्थमा खेल पत्रकारहरू अनगिन्ती अनुगमन समाचार बनाउने गर्दछन् । खेलकुदसम्बन्धी सम्बन्धित विविध विषयको भित्री तहसम्म गएर समाचार सङ्कलन गर्ने काममा पनि खेलकुद पत्रकारहरूले अग्रसरता देखाउँदै आएका छन् ।

नेपाली खेलाडीहरूलाई ‘सेलेब्रेटी’ बनाउन खेल पत्रकारहरूले महत्वपूर्ण भूमिका खेलेका छन् । नेपाली खेलकुद क्षेत्रका सामान्य गतिविधिले पनि सञ्चारमाध्यममा स्थान पाउँदै आइरहेका छन् । २०७२ सालको भूकम्प, कोभिड–१९ को सङ्क्रमणजस्ता गम्भीर परिस्थितिमा सम्पूर्ण जनजीवनसहित खेलकुदजगत् कुनै गतविधि नभई ठप्प भएको अवस्थामा पनि खेलकुदसँग सम्बन्धित समाचार प्रकाशन तथा प्रसारण भएका थिए ।

विगतमा खेलकुद समाचार प्रकाशित हुँदा फुटबल खेलमा कुन टोलीले कसलाई कति गोलले पराजित गर्यो जस्ता समाचार छापिन्थ्यो । अब कस्ले ? कस्लाई ? कसरी पराजित गर्यो ? जस्ता आशयका समाचार सार्वजनिक हुने गरेका छन् । आज खेल बुझ्नेहरू खेल पत्रकार बनेका छन् । पाठक तथा दर्शकहरूको पनि खेलकुद बुझ्ने क्षमता बढ्दै गएको देखिएको छ । खेलका हरेक नियमका ज्ञाता पत्रकारहरूले खेल हेरेकै भरमा खेलमा नतिजाबारे प्राविधिक विश्लेषण गर्न सक्ने अवस्थामा पुगिसकेका छन् ।

नेपालमा खेलकुदसम्बन्धी समाचार सङ्कलन गर्ने पत्रकारहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ । हिजोका दिनमा एउटै समाचारदाता समाचार सङ्कलन गर्न विभिन्न स्थानमा पनि जानुपर्ने अवस्था भएकाले खेलकुद गतिविधिले खासै प्राथमिकता पाउँदैनथे । आज खेलकुद विधाकै पत्रकारलाई खेलसम्बन्धी समाचार सङ्कलनका लागि खटाउन थालिएको छ । अझ फुटबल, क्रिकेट, बास्केटबल, मार्सलआर्टस जस्ता खेल विशेषमा केन्द्रित खेल पत्रकारहरू पनि क्रियाशील हुन थालेका छन् ।

आज नेपालमा सञ्चालन भइरहेका धेरैजसो टेलिभिजन तथा रेडियोहरूले आफ्ना समाचार बुलेटिनमा नेपाली खेलकुद गतिविधिलाई समेट्दै आइरहेका छन् । विभिन्न खेलकुद कार्यक्रममार्फत खेलाडीहरुको सफलता, प्रतियोगिता, उनीहरूका समस्याजस्ता विषयवस्तु समावेश गर्ने गरिएको छ । पछिल्लो समयमा सबैजसो प्रमुख सञ्चारमाध्यम अनलाइनसँग जोडिएका छन् । हाल नेपालमा सञ्चालनमा आएका प्रायः अनलाइन पोर्टलहरुमा खेलकुदसम्बन्धी समाचारहरू दिने गरिएको छ ।

नेपालमा खेलकुद विधालाई मात्र केन्द्रित गरिएका केही अनलाइन पोर्टलहरुसमेत सञ्चालन भइरहेका छन् । यस्ता पोर्टलहरूमा विभिन्न खेलका विस्तृत जानकारी दिइने गरिएको छ । ती पोर्टलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको प्रत्यक्ष प्रसारणसमेत गर्ने गरेका छन् । खेलकुदमै केन्द्रित गरिएका यस्ता करिब एक दर्जन समाचार पोर्टलमध्ये कुनैले राम्रो गरिरहेका छन् । अहिले क्रिकेट र फुटबल खेलजस्ता खेल मात्र बेग्लाबेग्लै समाचार पोर्टल पनि नेपालमा सञ्चालन भइरहेका छन् ।

खेलकुद पत्रकारिताप्रति आकर्षण

नेपालमा खेलकुद पत्रकारितामा विशेषगरी युवा पत्रकारहरूको आकर्षण रहेको पाइन्छ । कतिपय अवस्थामा नाम चलेका टेलिभिजनका लागि कार्यक्रम बनाउने तथा टेलिभिजनको लाइभ कमेन्ट्री गर्ने खेल पत्रकार पनि सेलिब्रेटी जस्तै हुन्छन् । पहिले खेलाडीको रुपमा अनुभव हासिल गरिसकेकाहरू पछि खेल पत्रकार भएको पनि देखिएको छ । लामो समय महावीर क्लबका तर्फबाट फुटबल खेलेका श्याम चित्रकार अहिले ८२ वर्षको उमेरमा पनि क्यामरा बोकेर खेल स्थलमा फोटो तथा भिडियो खिच्दै हिँडेको देख्न सकिन्छ ।

खेलकुद विधामा राजनीतिक तथा अपराधजस्ता विधाको तुलनामा जोखिम कम हुने गरेको छ । तापनि बेलाबखत पत्रकारहरू खेलमैदानमै आक्रमणमा परेका छन् । समाचार कभरेज नगरेको, आफू अनुकूल समाचार नबनाएको जस्ता कारण देखाएर पत्रकारलाई तारो बनाएका घटना पनि देखिएको छ । बेलाबखत खेलाडी तथा खेल पदाधिकारीले खेल पत्रकारलाई धम्की दिएको घटना पनि भएका छन् । एउटै विषयमा केन्द्रित रहेर समाचार सङ्कलन गर्ने पत्रकारमा सम्बन्धित विषयमा विशेषज्ञता बढ्दै गएको देखिएको छ । नेपालमा खेलकुद पत्रकारिता बिस्तारै स्थापित हुने बाटोमा अग्रसर भइरहेको छ । अहिले खेलकुद विधा लिएर पत्रकारिता गर्ने पत्रकारको सङ्ख्या बढदै गइरहेको पाइएको छ ।

खेल पत्रकार सङ्गठित

नेपालमा खेलकुद विधामा काम गर्ने पत्रकारहरूको सङ्ख्या सीमित भए तापनि सङ्गठित भएका छन् । २०५२ सालमा स्थापना भएको नेपाल खेलकुद पत्रकार मञ्च निरन्तर सञ्चालन भइरहेको छ । अहिले नेपालमा भएको खेल पत्रकारहरूको यो सबैभन्दा ठूलो संगठन हो । खेलकुद क्षेत्रमा बेलाबखत हुने गरेका विभिन्न विवादमा यो मन्चले मध्यस्थता गरेर आफ्नो पहिचानलाई स्थापित गरेको छ । मञ्चले अग्रज खेलकुद पत्रकारलाई सम्मान गर्ने तथा नयाँ प्रतिभाशाली पत्रकारलाई प्रोत्साहित गर्ने काम पनि गर्ने गरेको छ । यसैगरी मञ्चले एकेडेमी खोलेर खेल पत्रकारहरूलाई प्रशिक्षण दिने गरेको छ । मञ्चले काठमाडौं उपत्यकाका साथै विभिन्न जिल्लामा कार्यरत पत्रकारहरूलाई पेशागत तालिम सञ्चालन गर्दै आएको छ । नेपाल खेलकुद पत्रकार मञ्च अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासङ्घ (एआइपिएस) र एशियाली खेलकुद पत्रकार महासङ्घ (एआइपिएस एशिया) मा आबद्ध रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्चलाई सन् २०२२ मा एशियाकै उत्कृष्ठ खेलकुद पत्रकार सङ्घको पुरस्कार प्रदान गरिएको थियो । देशमा व्यावसायिक खेलकुद पत्रकारिता र खेलकुदको विकास र प्रवद्र्धनमा उत्कृष्ट काम गरेको कदर गर्दै सो सम्मान गरिएको थियो ।

पत्रकार र खेलाडीको सम्मान

नेपाल खेलकुद पत्रकार मञ्चले वर्षेनी प्रदान गर्ने गरेको विभिन्न विधाको खेल पुरस्कार अहिले नेपालकै सबैभन्दा ठूलो खेल पुरस्कारका रुपमा स्थापित हुन पुगेको छ । यस पुरस्कारअन्तर्गत वर्षको उत्कृष्ठ खेलाडी तथा प्रशिक्षकलाई पुरस्कृत गर्ने गरिएको छ । यसैगरी वर्षमा उत्कृष्ठ नतिजा ल्याउने खेलकुद संघलाई पनि पुरस्कृत गर्ने गरिएको छ । अझ महत्वपूर्ण पुरस्कारका रुपमा लाइफटाइम एचिभमेण्ट पुरस्कार स्थापित हुन पुगेको छ । मन्चले एशियाकै उत्कृष्ठ खेल पत्रकारलाई पनि पुरस्कृत गर्ने गरेको छ । एआइपीएसले नेपाली खेल पत्रकार प्रज्ज्वल ओलीलाई सन् २०२० मा एआइपिएस स्पोर्ट्स मिडिया अवार्ड प्रदान गरेको थियो । विश्वभरका १२५ देशका खेल पत्रकारलाई उछिन्दै उनले ‘उत्कृष्ट स्तम्भ लेखन’ अवार्ड प्राप्त गरेका थिए । पुरस्कार आठ हजार अमेरिकी डलरको थियो ।

खेल पत्रकारिताका चुनौती

नेपाली खेलकुद पत्रकारितामा लागेकाहरुले भोग्नु परेको मुख्य चुनौती भनेको काम गरेको सञ्चार माध्यमको स्थायित्व हो । सञ्चार माध्यम बन्द हुने, कर्मचारी कटौती गरिने, न्यून ज्यालामा काम गर्नु पर्ने बाध्यता रहेको जस्ता कारणले खेल पत्रकारलाई बिभिन्न मिडियाहरु चहार्दै हिंड्नु चुनौती मानिएको छ । यस्तै खेल पत्रकारलाई धेरै खेलको ज्ञान हुनु पर्ने आवश्यकता रहेको छ । सञ्चार माध्यमले विभिन्न खेलैपिच्छे बेग्लाबेग्लै समाचारदाता राख्न नसक्ने भएकोले एकै पत्रकार विभिन्न खेलमा जानकार हुनु चुनौतीपूर्ण मानिन्छ ।

यस्तै, खेल पत्रकारले दिनहुँ भोग्नु परेको अर्को चुनौती भनेको समय सीमा हो । समयमै खेलमैदानमा पुग्नुपर्ने र सञ्चारमाध्यममा निश्चित अवधिभित्र समाचार बुझाउनुपर्ने बाध्यताले खेल पत्रकारलाई सधैँ पछ्याइरहेको हुन्छ । विभिन्न कीर्तिमानहरूको तथ्य सत्य जाँच गर्नुपर्ने बाध्यता पनि उसलाई हुन्छ । नेपालमा खेलाडीहरुको कीर्तिमान नेपाली खेलकुदको आधिकारिक निकाय राष्ट्रिय खेलकुद परिषद्मा समेत व्यवस्थित नरहेको अवस्थामा आधिकारिक रेकर्डहरु खोज्न समस्या हुने गर्दछ । अर्को चुनौती भनेको पूर्वाग्रहरहित हुनु हो । खेल पत्रकारका हरेक समाचार निष्पक्ष र तटस्थ हुनु जरुरी रहेको छ ।

नेपालमा हालसम्म प्रकाशित खेलकुदसम्बन्धी पत्रपत्रिकाहरु नियमित हुन सकेका छैनन् । कैयौँ पत्रिका प्रकाशित भएर पनि बन्द भएका छन् । विगत केही दशकदेखिको यो समस्या अहिलेसम्म पनि विद्यमान रहेको नै पाइन्छ । सीमित बजार, विज्ञापनमा कमी जस्ता कारणले खेलकुद पत्रिकाहरुको स्थायित्व हुन सकेको छैन ।

नेपालमा सयौँ टेलिभिजनहरु स्थापना भइसकेको भए पनि हालसम्म एउटा पनि खेलकुद च्यानल खुल्न सकेको छैन । यसैकारण नेपाली दर्शकहरुले कुनै महत्वपूर्ण खेलकुद प्रतियोगिता हेर्नका लागि भारतीय वा अन्य विदेशी च्यानलको सहारा लिइरहनु परेको अवस्था छ । नेपाल टेलिभिजनले हालसम्म पाँचवटा च्यानल खोलिसक्दा पनि एउटा खेलकुद च्यानल खोल्नका लागि कुनै पहल गरेको छैन । आर्थिक विकास तथा प्रशासन केन्द्र सेडाले सन् २००३ मा गरेको सर्वेक्षणमै नेपाल टेलिभिजनलाई खेलकुद च्यानल खोल्नका लागि सुझाव दिएको थियो । नेपालमा कुनै कुनै महत्वपूर्ण खेल प्रतियोगिता हुँदा नेपाली टेलिभिजनहरुबीच त्यसको प्रसारण अधिकार लिन होडबाजी नै चल्ने गरेको छ । तर नियमित रुपमा खेलकुद च्यानल खोल्न भने कुनै टेलिभिजनले पनि प्राथमिकता दिएका छैनन् ।

निष्कर्ष

नेपाली खेलकुदजगत्ले सञ्चारमाध्यममा आवश्यक मात्रामा महत्व पाउन सकेको छैन । खेलकुदसम्बन्धी समाचारलाई हाल उपलब्ध भइरहेको स्थान तथा समय पर्याप्त छैन । खेलकुदका सबै विधा तथा विविध खेलकुद प्रतियोगिताहरूलाई सञ्चारमाध्यमहरुले समेट्न सकेका छैनन् । रेडियो तथा टेलिभिजनबाट खेलकुदसम्बन्धी समाचार, कार्यक्रम प्रस्तोताप्रति दर्शकहरुले अझै बढी अपेक्षा गरेका छन् । अन्य विदेशी च्यानल सरह नेपालका टेलिभिजनहरु प्रविधिका दृष्टिले समृद्ध हुन सकेका छैनन् ।

हालसम्म नेपालमा खेलकुद मात्र देखाइने टेलिभिजन च्यानल खुल्न सकेको छैन । मुलुकको ठूलो जनसङ्ख्याका रुपमा रहेका युवा जमातलाई अनुशासित बनाएर जिम्मेवार आमसञ्चारमाध्यमहरूले आफ्नो माध्यमलाई अझ लोकप्रिय बनाई पाठक, स्रोता र दर्शकहरुको सङ्ख्या बढाउन खेलकुद महत्वपूर्ण माध्यम बन्न सक्दछ । यसका लागि सरकार तथा सञ्चारमाध्यमले खेलकुद पत्रकारितालाई उचित प्राथमिकता, यथोचित लगानी तथा पत्रकारहरूको पेसागत दक्षता एंव वृत्तिविकासतर्फ ध्यान दिनु जरुरी देखिएको छ । (लेखक राजु सिलवाल खेलकुद पत्रकारिताका जानकार हुनुहुन्छ)



120 Views

Comments