के हो राजसंस्थाको समर्थनमा सेनाले नारा लगाएको भाइरल भिडियोको तथ्य?

Bhugolpark

२३ भाद्र, २०८१,१३:०८

राजसंस्थाको निमित्त नेपाली सेनाले सडकमा आएर नारा लगाएको दावीसहित एउटा भिडियो फेसबुकमा भाइरल भएको छ। ४ लाख ८२ हजार पटक हेरिएको भाइरल भिडियोमा सेनाको बर्दीमा एक जवानले माइकमा बोलिरहेको देखिन्छ भने राजतन्त्रको पक्षमा लागेका केही नारा सुन्न सकिन्छ।

हाम्रो तथ्यजाँचमा यो भिडियो मिथ्या सूचना भएको पाइएको छ। भिडियो नेपालसँग सम्बन्धित छैन भने त्यसमा रहेको आवाज पुरानो अडियोलाई सम्पादन गरेर राखिएको हो। 

के हो दावी?

११ हजार फलोअर रहेको ज्ञानप्रसाद पाण्डे नामको फेसबुक प्रयोगकर्ताले गत अगस्त ३० तारिख अर्थात् भदौ १४ गते फेसबुकमा अपलोड गरेको भिडियोमा “राजसंस्थाको निम्ति सेना सडकमा आउँदै हुनुहुन्छ, होसियार….” लेख्दै राखेको भिडियोमा सेनाको पहिरनमा एक जवान माइकमा केही बोलिरहेको देख्न सकिन्छ।

भिडियोमा भएको अडियोमा भने “आदेश देऊ ज्ञानेन्द्र, युद्ध लड्न तयार छौं”, “गणतन्त्र धोका हो”, जस्ता नारा लागिरहेको सुन्न सकिन्छ।

यो तथ्यजाँच तयार पार्दा सम्म उक्त भिडियो १ हजार ८ सय भन्दा बढी पटक सेयर भइसकेको छ। ९१५ वटा कमेन्ट रहेको भिडियो १५ हजार भन्दा बढीले लाइक गरेका छन्।

हेर्नुहोस स्क्रिनरेकर्ड


के हो तथ्य?

सेनाले साँच्चिकै राजसंस्थाको निमित्त सडकमा आएर नारा लगाएको हो अथवा होइन भन्ने कुरा यकिन गर्न हामीले ह्युमन इन्टेलिजेन्ससँगै डिप सर्च प्रयोग गर्ने निर्णय गर्‍यौँ। 

भिडियोलाई नियालेर हेर्दा @javed_s_1 टिकटक ह्यान्डलको लोगो देख्यौं, सो टिकटक ह्यान्डल खोजेर हेर्दा उक्त व्यक्तिको प्रोफाइलको मै सो भिडियो पिन गरेको देख्यौं। भिडियोमा बोलिरहेका सैनिक जवान र नेपालको हो भन्ने दावी सहित राखिएको भिडियोमा भएका सैनिक जवान एकै भएको हामीले थाहा पायौं तर ती सैनिक जवान नेपाली भाषामा नभई विदेशी भाषामा माइकमा बोलिरहेका थिए। 

भाषा नबुझे पनि हामीले सो भिडियोसँगै भएका अक्षरहरु कपि गरेर गुगल ट्रान्सलेटमा राखेर हेर्दा सो भाषा बङ्गाली रहेको थाहा भयो।

हेर्नुहोस स्क्रिनसट

भिडियोको २८औं सेकेन्डमा सेनिक जवानको पछाडि शेख मुजिबुर रहमान जस्ता देखिने व्यक्तिको चित्र पनि देख्न सकिन्छ।

टिकटकमा रहेको भिडियोमा बोलिएको भाषा र भिडियोमा देखिएको मुजिबुर रहमानको चित्रले गर्दा हामीले बङ्गलादेशका तथ्यजाँचकीको सहयोग लिने निर्णय गर्‍यौँ। हामीले बङ्गलादेशको तथ्यजाँच संस्था ऱ्युमर स्कयानर का वरिष्ठ तथ्यजाँचकी Tanvir Mahatab Abir लाई भिडियोका बारेमा सोध्दा उनले यो भिडियो बङ्गलादेशकै निलफामरी जिल्लाको रहेको पुष्टि गरे। बोलिरहेका व्यक्तिको नेमट्यागमा बङ्गाली भाषा रहेको र उनी लेफ्टिनेण्ट कर्णेल मुराद रहेको जानकारी पनि उनले दिए। उनले हामीलाई मूल भिडियो निलफामरी न्युज अपडेट नामक फेसबुक पेजमा गत अगस्त ५ तारिखमा अपलोड भएको भन्दै लिङ्क पनि पठाए। 


अतः भिडियो नेपालको नभई बङ्गलादेशको हो।

अनि अडियो?

भाइरल भिडियो नेपालको नभएको पुष्टि भएपछि हामिले अडियोबारे थप खोजी गर्‍यौँ। राजावादी आन्दोलन र नारा “गणतन्त्र मुर्दावाद”, “गणतन्त्र धोका हो” जस्ता किवर्ड राखेर सर्च गरेर हेर्दा हामीले ‘अनलाइनटिभी नेपाल’ नामक युट्युब च्यानलले २०८० पुस २७ गते पृथ्वी जयन्तीको दिन अपलोड गरेको एक भिडियो फेला पार्‍यौँ।

सो भिडियोको पहिलो ४० सेकेण्ड र राजसंस्थाको निमित्त नेपाली सेना सडकमा आएको दावी गर्दै फेसबुकमा राखिएको भिडियोको अडियो हुबहु मिलेको हामीले पायौं।

हेर्नुहोस स्क्रिनरेकर्ड


यसर्थ भाइरल भिडियोमा लगाइएका नारा पुराना हुन् र सम्पादन गरी राखिएको हो।  

पृथ्वी जयन्तीको अवसरमा जम्मा भएका विभिन्न संगठनका व्यक्तिले नाराहरु लगाएको देखिन्छ। तर ‘अनलाइनटिभी नेपाल’ ले भिडियोको टाइटलमा भनेजस्तो राष्ट्रपति समक्षनै “गणतन्त्र धोका हो” भन्ने नारा लगाएको भने देखिन्न। भिडियोको पहिलो ४० सेकेण्डमा फरक आवाज र दृष्य जोडेर एकैसाथ राखेको हामीले पायौं।

भिडियो पूरै हेरिसक्दा पनि राष्ट्रपतिसमक्ष नारा लगाएको कतै देखिएन। 

तथ्यजाँच

दावीः राजसंस्थाका निमित्त नेपाली सेना सडकमा आएर नारा लगाएको दावी सहितको भिडियो।

दावीकर्ताः  ज्ञानप्रसाद पाण्डे (फेसबुक प्रयोगकर्ता)

तथ्यजाँचः मिथ्या सूचना। भिडियो नेपालको नभई बङ्गलादेशको हो भने अडियो पुस २७, २०८० मा एक युट्युब च्यानलमा राखिएको भिडियोबाट लिइएको हो। फरक सन्दर्भको अडियो र भिडियो एकै ठाउँ राखेर कम्युटरमार्फत् सम्पादन गरेर भिडियो सामाजिक सञ्जालमा राखिएको हो।


73 Views

Comments