हरितालिका (तीज) हिन्दुधर्मालम्वीहरूले धुमधामले मनाउँदै

२१ भाद्र, २०८१,१०:४७

२१ भदौ, काठमाडौँ । हरितालिका (तीज) को अवसरमा आज श्रद्धालु हिन्दुधर्मालम्वी भक्तजनहरूले पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शन तथा पूजाआजा गरी मनाउँदैछन् । भाद्र शुक्ल तृतीयाका दिन हरितालिका (तीज) मा व्रतालुले निराहार व्रत बसेर विधिपूर्वक शिव–पार्वतीको पूजा आराधान गर्दछन् ।

सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको कथा छ । त्यसैले आजको दिन अविवाहित नारीले सुयोग्य वर पाउन र विवाहित महिलाहरूले पतिको सुस्वास्थ्य, दृर्घायू र प्रगतिको कामना गर्न निराहार व्रत बसेर विधिपूर्वक शिव-पार्वतीको पूजा गर्ने प्रचलन रहेको छ । यही विश्वासका साथ व्रतालुहरूले स्नान गरी निराहार व्रत बसेर आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शन तथा पूजाआजा गरिरहेका छन् । कतिपयले घरमै पूजा गरेर तीजको व्रत बसिरहेका पनि छन् ।

हरितालिका (तीज) को अवसरमा महिलाहरूले वर्षदिनभर आफूलाई परेका दु:ख,पीर,मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । उनीहरू भेला भएर सुख-दु:ख भावका गीत र भजन गाउँदै नाचगान गर्दछन् ।

बिहीबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।



117 Views

Comments