तीज पर्व सुरु, आज दर खाने दिन

२० भाद्र, २०८१,१६:११

२० भदौ, काठमाडौँ । हरितालिका (तीज) व्रतको अघिल्लो दिन आज हिन्दु महिलाहरू आफ्नो गच्छेअनुसार दर खाने प्रचलन रहेको छ । दरखाने दिनसँगै तीज पर्व सुरु हुँदैछ । विशेष गरी नारीले मनाउने हरितालिका अर्थात तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलिबेटीलाई बोलाई दर खुवाउने प्रचलन रहेको छ ।

विगतका दिनमा दरका रुपमा विशेष गरी दुधबाट बनेका शुद्ध परिकार खाने गर्थ्ये । तीजका दिन व्रत सक्नेले निराहार बस्ने भएकाले आजका दिन वर्तालुहरूले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिला परिकार दरका रुपमा खाई भोलिको व्रतका लागि पूर्व तयारी गर्थे । तर हिजो आज देखासिखि र तडकभडक अस्वस्थ रुपमा बढेर गएको पाइन्छ । आधुनिकशैलीमा तीज सुरु हुनुभन्दा एक महिना अघिदेखि सक्नेले पार्टी प्यालेसमा भोज खाने, नाचगान गर्ने र मदिरा पिउने गरेको देखिन्छ । मध्यम खालको आर्थिक अवस्था भएका महिलाहरूले पनि एक महिना अघिदेखि साथीसँगीहरू जम्मा भएर घरघरमा दर खाने गरेको देखिन्छ । त्यसैगरी महंगा राता कपडा र गहना लगाउने, व्युटी पार्लरमा गएर चिरिच्याट्ट परेर हिड्ने गरेको देखिन्छ । जसले गर्दा गहना र घरसमेत चोरीका घटना दिनानुदिन बढिरहेको छ ।

पहिलापहिला गाउँले जीवनलाई टपक्कै टिपेर सुख दु:खको गीत गाएर महिलाहरूले खुशी साटासाट गर्थे । तर हिजोआज आधुनिक गीतको नाममा विकृति र विसंगति मौलाउँदै गएको छ यानी लोकसंस्कृतीको धज्जी उडाइदैँ छ । त्यसैले भाविपुस्ताको लागि भएपनि हामीले लोकसंस्कृतिको जगेर्ना गर्न मौलिक गीत, संस्कृति र संस्कारको संरक्षण गर्नुपर्छ । तडक भडक र देखासिखिको अन्त्य गरी आफ्नो गच्छेअनुसार खुसी साटसाट गरी तीजको व्रत वस्ने गर्नुपर्छ ।

तीजको व्रत कसरी गरिन्छ ?

आज दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन गरिन्छ । अविवाहित नारीले सुयोग्य वर पाउन र विवाहित महिलाहरूले पतिको सुस्वास्थ्य, दृर्घायू र प्रगतिको कामना गर्दै भगवान श्रीपशुपतिनाथको पूजाअर्चना गर्ने प्रचलन रहेको छ ।




167 Views

Comments