१९ भदौ, काठमाडौँ । चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि समापन गरिँदै छ । विशेष गरी बौद्ध समुदायले मनाउने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य आदि परिक्रमा गरी मनाइन्छ ।
गत २१ साउन देखि सुरु भएको यस पर्व विभिन्न स्थानीय बौद्ध चैत्यको परिक्रमा गरी आज समापन गरिँन लागेको हो । बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्बीका नेवार समुदायले पनि पछिल्लो वर्षमा यो पर्व मनाउन थालेका छन् । यस पर्वमा प्रत्येक दिन नौ बाजा बजाएर चैत्य तथा मन्दिर परिक्रममा गरिने र पर्व अवधिभर बिहान बेलुका पूजाअर्चना गर्ने प्रचलन रहेको छ । दर्शन गर्न जाँदा विभिन्न बाजागाजा बजाएर श्लोक मन्त्रोचारण गरेर मठ, मन्दिर, चैत्य, विहार परिक्रमा गर्ने गरिन्छ ।
गुँला पर्व भक्तपुर, काठमाडौँ, ललितपुर, कीर्तिपुर, मध्यपुरथिमिमा पनि यस्तै प्रक्रियाबाट मनाउने परम्परा छ । यस पर्वमा स्वयम्भू महाचैत्य, बौद्ध चैत्य, स्थानीय बहाः, बही, चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिन्छ । राँगा, भेडाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा, दाफा, धाः, बाँसुरी, धिमे, भुस्यालगायत नौ बाजा बजाएर परिक्रमा गरिन्छ ।
यस पर्वमा एक महिनासम्म दशशीलको पालना गर्नुपर्ने जनाउँदै एक महिनाको अवधिमा कम्तीमा प्राणी हिंसा नगर्ने, कसैले नदिइ केही पनि नलिने, नराम्रो काम नगर्ने, झुटो कुरा नबोल्ने, लागुपदार्थ एवं मद्यपान नगर्ने, परस्त्री सम्पर्क गर्न नहुने धार्मिक मान्यता रहेको छ । सकेसम्म अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने, समयमै भोजन गर्ने, आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्न सके दशशील पालना हुने बौध धर्मालम्बीहरूले बताउँने गरेका छन् ।
Comments