पारा ओलम्पिकमा ऐतिहासिक पदक विजेता पलेशाको विमानस्थलमा भव्य स्वागत

१९ भाद्र, २०८१,११:५९

१९ भदौ, काठमाडौँ । पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्द्धनको विमानस्थलमा बाजागाजासहित खेलकुद मन्त्री तेजुलाल चौधरीसहित राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीले भव्य स्वागत गरेका छन् । उनीलाई नगर परिक्रमा गरिइएको छ ।

नगर परिक्रमा त्रिभूवन विमानस्थलबाट सुरु भएर गौशला, पुरानो बानेश्वर, मैतिदेवी, डिल्लिबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर हुँदै राष्ट्रिय खेलकुद परिषदको प्रांगणमा पुगेर बधाई कार्क्रमको आयोजना गरिएको थियो । पदक जितेर स्वदेश फर्किएकी पलेशाले स्वत:स्फूर्त रुपमा विमानस्थलदेखि सडकसम्म न्यानो स्वागत पाएकी हुन् ।

नेपाली पारा तेक्वान्दो खेलाडी पलेशाले पेरिस पारा ओलम्पिक-२०२४ को के-२४ क्याटागोरीको महिला ५७ केजीमुनीको भिडन्तमा शुक्रबार अबेर राति पेरिसस्थित ग्रान्ड प्यालेसमा सर्बियाकी मरिजा मिसेभलाई १५-८ अंकले गत पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २-१ ले हराएकी थिइन् ।

रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनुजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षिय खेलमा ३१-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । क्वाटरफाइनलमा भने पलेशाले अधिकांश समय अग्रता लिएको खेलमा अन्तिम समयमा विश्व वरीयतामा शीर्ष स्थानकी ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेजसँग ८-१० ले पछि परेकी थिइन् ।

गत चैतमा चीनको ताइवानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उहाँले स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट हुनुभएको थियो । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुनुहुन्छ ।



147 Views

Comments