भारतका खेलकुद राज्यमन्त्रीलाई बस दुर्घटनाको ‘ब्रिफिङ’

८ भाद्र, २०८१,१८:१४

८ भदौ, काठमाडौँ । आफ्नो देशका २७ जना नागरिकको सडक दुर्घटनामा निधन भएपछि नेपालको आकष्मिक भ्रमणमा रहनुभएकी भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई सुरक्षा निकायका अधिकारीले दुर्घटनाबारे जानकारी गराउनुभएको छ । गृहमन्त्री रमेश लेखकको उपस्थितिमा गृह मन्त्रालयमा ब्रिफिङ भएको हो । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी परिचालन भएका तथा घाइतेलाई यथाशक्य चाँडो उद्धार गरेर अस्पताल पुर्याइएको गृहमन्त्रीले बताउनुभयो । उहाँहरूको उपचारमा कुनै कमीकमजोरी हुन नदिने व्यवस्था सरकारले मिलाएको जानकारी दिँदै मन्त्री लेखकले दुर्घटनाबाट नेपाल सरकार अति दुःखी भएको बताउनुभयो ।

गृहमन्त्रीले नेपाल सरकारका तर्फबाट दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभयो । साथै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । त्यसअघि गृहमन्त्री लेखक र राज्यमन्त्री खड्सेले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत घाइतेको अवस्थाबारे जानकारी लिनुभएको थियो । उक्त अस्पतालको सघन उपचार कक्षमा तीन र अन्यको सामान्य वार्डमा उपचार भइरहेको छ ।

राज्यमन्त्री खड्सेले नेपाल सरकारबाट उद्धारदेखि उपचारसम्मका काममा भएको कुशल व्यवस्थापनप्रति आभार प्रकट गर्नुभयो । “दुर्घटना मेरा आफन्तको पनि मृत्यु भएको छ ।” उहाँले भन्नुभयो, “उद्धारमा खटिने सम्पूर्ण सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलगायत सबैलाई धन्यवाद ।” शुक्रबार पोखराबाट काठमाडौँतर्फ आइरहेको युपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् ।



97 Views

Comments