बेपत्ता नर्स ममता काफ्ले भट्टको घरमा प्रहरीले खोजी गर्दा श्रीमान पक्राउ

७ भाद्र, २०८१,१२:२६

७ भदौ,भर्जिनिया । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट तीन सातादेखि हराइ रहेकी २८ वर्षीय नेपाली नर्स ममता काफ्लेका पति नरेश भट्ट पक्राउ परेका छन् । प्रहरीले उनलाई खोजि गर्ने क्रममा बिहिबार बिहान उनको घर मनासस पार्कबाट पक्राउँ गरेको हो । २८ वर्षिय ममता काफ्ले भट्ट अन्तिम पटक जुलाई ३१ मा देखिएकी थिइन । ममता काफ्ले अगष्ट २ मा पनि काम गर्ने ठाउँ यूभिए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा हाजिर नभएपछि उनका सहकर्मीले अवस्था बुझिदिनका लागि स्थानीय प्रहरीलाई खवर गरिदिएका थिए । उनका श्रीमान नरेश भट्टलेसमेत ढिलो गरी अगष्ट ५ मा श्रीमति हराएको जानकारी दिएका थिए । ममता हराएको तीन हप्तापछि प्रहरीले दम्पतिको घरमा खोजी वारेन्ट जारी गरेको थियो ।

यसैबीच, वाशिंगटन पोष्टका अनुसार ‘पति-पत्निबीच सम्बन्ध राम्रो थिएन। ममताले आफूलाई भट्टसँग छुट्टिने तयारी गरिरहेको बताउने गरेकी थिइन,’ एक नेपालीले बताए । ‘उनी हराएपछि नेपाली समुदायका हामीले प्रहरी कार्यालय बाहिर धर्ना पनि दिन थालेका थियौँ ।’ उक्त धर्नामा सो निर्वाचित कंग्रेसम्यान र सिनेटर पनि सहभागी भएका थिए । मनासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले काफ्लेका श्रीमानले अगष्ट ५ मा हराएको खबर दिएको पुष्टि गरेका छन् । श्रीमति हराएकोमा ढिलो रिपोट गरेको बारेमा प्रहरीले सोध्दा यस विषयमा प्रहरीले नै अनुसन्धान गर्नुपर्ने बताएका थिए ।

एक वर्षीया छोरीकी आमा ममताको नेपाल घर काभ्रे रहेको खुलेको छ । उनी भर्जिनियामा रजिष्टर नर्स हुन । प्रहरीले ममताको खोजीमा सहयोग गर्न भर्जिनिया र अन्य अमेरिकी प्रहरी एजेन्सीलाई समेत सूचित गरेको थियो । पछिल्लो समय परिवार, साथी, रोजगारदाता कम्पनीलगायतसँग उनको कम सम्पर्क रहेको, सामाजिक सञ्जाल प्रयोग पनि कम हुने गरेको प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

उनका श्रीमान् नरेश भट्ट दुई पटक अफगानिस्तान युद्धमा सहभागी भइसकेका अमेरिकी सेनामा अवकाश प्राप्त अधिकारी हुन् । उनी हाल ह्वाइट हाउसमा कार्यरत रहेका थिए । ५ फिट अग्ली र १३० पाउण्ड तौल भएकी ममताको बारेमा कसैलाई थाहा भएमा ७०३-३६१-११३६ मनासस प्रहरीलाई जानकारी दिन समेत भनिएको छ ।




380 Views

Comments