४ भदौ, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गर्नुभएको छ । अध्यक्षले दाहालले खुमलटारमा आयोजित एक कार्यक्रममा उहाँहरूलाई बिदाइ गर्नुभएको हो । त्यस अवसरमा अध्यक्ष दाहालले पदक जित्न नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्नुका साथै उहाँहरूको सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा नेपाल वादोरियो कराते डो सङ्घका केन्द्रीय पदाधिकारी, नेपाल कराते महासङ्घका उपाध्यक्ष श्याम शेर्पा र सचिव बि.आरलगायत सहभागी हुनुहुन्थ्यो । यही भदौ ८ र ९ गते जापान टोकियोमा हुने नवौँ वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा नेपाली खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाइबा, अनिल उपरकोटी र आरोन शेरचन सहित ६ सदस्यीय टोली सहभागी हुँदैछ ।
त्यसैगरी राजधानीमा जारी यु–२० साफ पुरुष फुटबल च्याम्पियनसिपमा नेपाल एक खेल अगावै सेमिफाइनमा पुगेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा समूह ‘ए’ मा रहेको बङ्गलादेशले सोही समूहमा रहेको श्रीलङ्कालाई २–० गोलअन्तरले पराजित गरेपछि नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।
यसअघि नेपालले उद्घाटन खेलमा श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गर्दै समूह ‘ए’ बाट शीर्ष तीन अङ्क जोडेको थियो । पछिल्लो हारसँगै श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ । बङ्गलादेशको जितमा मिराजुल इस्लाम र पिएश अहमद नोभाले समान एक एक गोल गरे । खेलको १८औँ मिनेटमा इस्लामको गोलमार्फत बङ्गलादेशले अग्रता लिएको थियो । त्यसपछि खेलको अन्त्यतिर नोभाले गोल गर्दै बङ्गलादेशको जित पक्का गरे ।
समूह ‘ए’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल यही भदौ ६ गते हुनेछ । यस्तै, प्रतियोतिगाअन्तर्गत भोलि माल्दिम्स र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।
Comments