आज गाईजात्रा पर्व मनाइँदै,उपत्यकामा सार्वजनिक विदा

४ भाद्र, २०८१,१३:५०

३ भदौ, काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व “गाईजात्रा” मंगलवार विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ ।

गाईजात्रमा दिवंगत आफन्तको सम्झनामा गर्दै मृतकको चिर शान्तिको कामनासहित गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर टोल/नगर घुमाउने गरिन्छ । त्यसैगरी गाई वा मानिसलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । गाईलाई परिक्रमा गराउँनाले मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्र शोकमा विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ-आफ्नो घरमा मरेका व्यक्तिको नाममा गाईजात्रा निकालि शहरर परिक्रमा गराउनू’ भनी आज्ञा दिएको आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य रहेको छ । यसबाट पनि रानीको मन शान्ता हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक समेत गराउन आदेश दिएअनुसार हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

राजा प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जनुपर्ने प्रथा अहिलेसम्म पनि कायमै छ । देशको विभिन्न स्थानमा नेवा समुदायले गाईजात्रा मनाउँने भएपनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ ।

भाद्रा कृष्ण अष्टमीका दिन मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत परिवारको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।



198 Views

Comments