“लोकतन्त्र सुदृढ गर्न मिथ्या वा भ्रामक सूचनाको अन्त्य हुन जरुरी छ”: अधिकारी

३ भाद्र, २०८१,१३:१४

३ भदौ, काठमाडौँ । नेपालमा संघ, प्रदेश र स्थानीय चुनावको बेला त्यसमा पनि मौन अवधिमा तथ्यमा आधारित समाचार हो/हैन,एकिनै नगरी वा तथ्य थाहाँनै नपाइ सामाजिक सञ्जालमा पोष्ट गरेको आर्टिकल, भिडियोलाई तुरुन्त सेयर गर्ने नेपालमा ट्रेन्डनै चलेको छ । यस्तो प्रकारको मिथ्या वा भ्रामक सूचना Misinformation र Disinformation लाई निर्वाचन आयोग लगायत तततत् निकायले समयमानै कडा निगरानी र कारवाही नगर्नाले हल्लाकै भरमा अयोग्य उमेदवारले जित्ने र योग्य उमेदवारले हार्ने गरेको छ । जसले अन्तत्वगत्व लोकतन्त्रनै धरापमा पर्छ ।

यस्ता गतिविधिलाई निरुत्साहित गर्नको लागि आज हामीले नेपाल चेकका सम्पादक दीपक अधिकारीसँग अन्तरक्रिया गरेका छौँ । उनले साउथ एसिया चेकको सम्पादकका रुपमा साढे दुई वर्ष बिताएका छन् । अधिकारी विगत दुई दशकदेखि पत्रकारका रुपमा नेपालमा कार्यरत छन् । उनले नेपालमा नेपाल साप्ताहिक पत्रिका र कान्तिपुर दैनिकका संवाददाताका रुपमा काम गरेका थिए । उनका समाचार र फिचर विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सी र मिडियामा प्रकाशित भएको छ । उनले फ्रान्सेली समाचार संस्था एएफपी र जर्मन समाचार संस्था डिपिएको नेपालस्थित संवाददाताको रुपमा काम गरेका छन् । उनका सामग्री न्यु योर्क टाइम्स, द गार्जियन, अल जजिरा, टाइम म्यागजिन आदिमा प्रकाशित छन् । पछिल्लो समय उनले डिजिटल खोज र तथ्य जाँचमा आफ्नो ध्यान केन्द्रित गरेका छन् ।

हाम्रो नेता डट अनलाइन (HamroNeta.Online) बाट हाम्रो नयाँ पोडकास्ट शृंखलाको यो उद्घाटन एपिसोडमा “मिथ्या वा भ्रामक सूचना Misinformation and Disinformation” शीर्षकमा आमनेपालीहरूमाझ चिरपरिचित उनै दिगज व्यक्ति नेपाल चेकका सम्पादक दीपक अधिकारी र मिडिया कुराकानीका सम्पादक रविराज बरालसँग गरिएको कुराकानीका सम्पादित अंश :

मिथ्या वा भ्रामक सूचना Misinformation and Disinformation भनेको के हो ?

मिथ्याले तपाईंलाई हानि गर्छ, तपाईंको समय, पैसा र स्वास्थ्यमा नकारात्मक असर पार्छ । नभएको कुरालाई भएझैँ सुनियोजित ढंगले चलाइएको दुष्प्रचारको फेला पर्नुभयो भने त्यसले तपाईंको निर्णय क्षमता क्षीण पार्छ । समग्रमा गलत, भ्रामक र जानी नजानी फैलाइएको खराब सूचना वा दाबीले समाजमा फाटो ल्याउँछ, मतदातालाई भ्रममा राख्छ । त्यसले हाम्रो लोकतन्त्रलाई कमजोर पार्छ ।

विपत्ति, महामारी वा निर्वाचनजस्ता देशकै भविष्य प्रभाव पार्ने घटना हुँदा मिथ्या वा गलत, भ्रामक र सन्दर्भ नखुलाइएका अभिव्यक्ति, सूचना र सामग्री व्यापकरूपमा छिट्टै फैलिन्छन् । निश्चत स्वार्थ पूरा गर्न नियोजित ढंगमा वा नजानेरै फैलाइने त्यस्ता सूचना, मन्तव्य, भाषण वा सामग्रीको सत्यता प्रमाणित गर्दै सही सूचना सबैसम्म पुर्‍याउनु जरुरी छ

यसका चुनौती कस्ता छन् ?

विकशित देशहरूमा मिथ्या वा भ्रामक सूचना कम हुने गर्छ । त्यहाँ मिथ्या वा भ्रामक सूचना चिर्न सही सूचना पाइन्छ । तर नेपालजस्ता अल्पविकशित मुलुकमा कुनै गलत कुरा खण्डन गर्न फ्याक्ट चेक गर्न कठिन छ । सरकार मिथ्या वा भ्रामक सूचनाको अन्त्य गरी लोकतन्त्रको सुदृढीकरण गर्न सही सूचना आमनेपालीलाई दिन नै चाहादैन् । सरकारका अलवा राजनीतिक दल, नागरिक समाज, विद्यार्थी, कलाकार, व्यापारी आदि वौधिक वर्ग नै आफूअनुकुल वारम्बार मिथ्या वा भ्रामक सूचना सामाजिक सञ्जाल, पत्रपत्रिका, टेलिभिजन आदिमा लेख्ने, पोष्ट गर्ने र भिडियो बनाएर प्रशारण गर्ने गर्छन् । उनीहरू सूचनाका केन्द्रमा हुन्छन् । तथापि सही सूचनालाई लुकाएर योजनाबद्द रुपमा मिथ्या वा भ्रामक सूचना फैलाउँछन् ।

चुनावी अभियानको क्रममा आइटी क्षेत्रमा काम गर्ने राजनीतिक दलका शुभचिन्तकहरूको काम भ्रामक सूचना दिने कारखाना बनेको छ । उनीहरू जानाजान सामाजिक सञ्जालमा लेख्ने, पोष्ट गर्ने र भिडियो बनाएर प्रशारण गर्ने काम गर्छन् । यस्ता चुनाव केन्द्रित समाचारले गर्दा अयोग्य उम्मेदवारले चुनाव जित्छ । नेताहरूको काम सपना बाढ्ने हुन्छ । त्यही सपनालाई आधार मानेर कांग्रेस-एमालेलगायतका दललाई जनताले चुनाव जिताउँछन् । तर आमजनताहरू विगतको घोषणा पत्र कति पूरा भयो/भएन चेक जाँच नै गर्दैनन् ।

गत निर्वाचनमा के मिथ्या वा भ्रामक सूचना Misinformation and Disinformation को प्रयोग भएको थियो ?

थियो । एमाले-माओवादी एकीकरण भएपछि भएको २०७४ को संघिय चुनावमा केपी ओलीले चुनाव जित्ने र भावी प्रधानमन्त्री बन्ने गलत सूचना फैलाइएको थियो । २०७९ को संघ र प्रदेशको निर्वाचनमा कांग्रेस पदाधिकारीको गोप्य सरकुलर माओवादीलाई भोट नदिन भन्ने शीर्षकमा मिथ्या वा भ्रामक सूचना प्रकाशित गरिएको थियो । पछि हामीले तथ्य जाँच गर्दा एमालेका सामाजिक सञ्जालमा भ्रम सृजना गर्न लगाएर अफवाह फैलाएको रहेछ । कांग्रेसले पदाधिकारीको गोप्य सरकुलर नै जारी गरेको रहेनछ । त्यस्तै बारा, चितवन र तनहुँमा भएको गत संघको उपनिर्वाचनमा पनि सेतोपार्टी पत्रिकाले रास्वपाका उम्मेदवार चितवनमा रवि लामिछाने र तनहुँमा स्वर्णिम वाग्लेले जित्ने र बारामा जनमतका उम्मेदवार शिवचन्द्र कुसवाहले जित्छन् भनी एक्जिट पोल बनाएको थियो । पुरानो दलप्रति फ्रष्टेट भोटको कारण चितवनमा रवि लामिछाने र तनहुँमा स्वर्णिम वाग्लेले जिते पनि बारामा तत्कालिन गठबन्धनका साझा उम्मेदवार उपेन्द् यादवले जिते ।

त्यसैगरी सुवासचन्द्र नेम्बाङको क्षेत्रमा पिताको राजनीतिक विरासतका कारण उनका छोरा सुहाङ नेम्बाङले चुनाव जित्छन् भनी सामाजिक सञ्जालमा बारम्बार पोष्ट गर्नु, टीभी र भिडियोमा प्रशारण गर्नु आदि कारणले राजनीति नै नगरेको व्यक्ति सुहाङ नेम्बाङले इलामको उपनिर्वाचनमा विजयी भए ।

मिथ्या सूचनाको अन्त्य गर्न मूलधारका सम्पादकहरूको भूमिका कस्तो हुनुपर्छ ?

प्रेस युनियन, प्रेस चौतारी आदि व्यावसायिक पत्रिका नै राजनीतिक दलको नजिक भएको पाइन्छ । त्यसलाई हटाउँदै जानुपर्छ । न्युजको रुपमा पत्रकारहरूको संख्या दिनानु दिन घट्दै गएको छ । पत्रकारहरूको गाइडलाइन नहुनाले त्यो पनि समस्या भइरहेको छ ।

विभिन्न सामाजिक सञ्जालमा म्यासेजिङ एप्लिकेशनबाट भित्र भित्रै पठाउँने सूचनालाई कसरी चिर्न सकिन्छ ?

यो गाह्रो छ । भारतमा ५ जनालाई भन्दा बढी एसएमएस पठाउँन नमिल्ने म्यासेजिङ एप्लिकेशनको विकास भएको छ । यसको लागि आइटीमा दखल भएका विज्ञ अनुसन्धानदाताहरूको ग्रुप बनाउँनुपर्छ । यो चुनौती छ । सरकारले टिकटक बन्द गरेपनि अहिले पनि टिकटक चलिरहेको छ । युट्युवमा पनि त्यस्तै छ । फेसबुकले डेटामा आधारित भएर तेस्रो पक्षलाई जवाफदेही बनाउँछ । भारतमा जस्तै नेपालमा पनि त्यस्तो तरिका सिक्नुपर्छ ।

हाम्रो नेता डट अनलाइन (HamroNeta.Online) बाट हाम्रो नयाँ पोडकास्ट शृंखलाको बाँकी भाग अर्को अंकमा पढ्न नभूल्नुहोला ।


378 Views

Comments