२५ साउन, काठमाडौँ । आज घरको मूल ढोकामा नागको चित्र टाँसेर हिन्दु धर्मालम्वीहरूले देशभरी नागपञ्चमी मनाउँदै छन् ।
घरको मूल ढोकामा नागको चित्र टाँसेर नागको पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दु:ख नदिनुकासाथै अग्नी, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
आज विहानदेखि काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह कुण्ड र नागस्थानमा गाईको दूध, अक्षता, दुबो, खीर, रोटी लगायतका परिकार चढाएर नागको पूजा गर्नेहरूको घुइँचो लाग्ने गर्छ ।
नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीन, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।
आजको दिन घरमा नागको पूजा गरेपछि खेतबारीमा खनजोत नगर्ने र नाग सर्प लगायतका घिस्रने जन्तुलाई मार्नु हुँदैन भन्ने मान्यता छ । वैदिक परम्पराअनुसार नागलाई सर्पका राजा मानिन्छ । नाग रिसाए भने अनिष्ट हुने मान्यताअनुसार नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकारहरू बताउँछन् ।
वैज्ञानिक रुपमा प्रकृतिमा भएको विषालु पदार्थलाई नाग सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि हुनुले ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको हुन सक्ने विश्वास रहिआएको छ ।
Comments