जनताको मागलाई नजर अन्दाज गर्दै आन्दोलनमाथि वल प्रयोग गर्दा भयो हसिनाराजको अवसान

२२ श्रावण, २०८१,१२:०८

बंगलादेशका विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लामले गरे अन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री प्रध्यापक मोहम्मद युनुसको नाम प्रस्ताव !

२२ साउन,काठमाडौँ । जनताको मागलाई नजर अन्दाज गर्दै आन्दोलनमाथि वल प्रयोग गर्दा बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाराजको अवसान भएको छ । हसिनाले मुलुक छाडेलगत्तै देशको बागडोर सेनाले लिएको छ । यद्यपि सेना प्रमुख जनरल वाकर-उज-जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् । तर पनि राजनीतिक संकटबीच राष्ट्रपति, संसद् वा अन्य राजनीतिक तथा संवैधानिक निकायको सट्टा सेनाले अग्रसरता लिएकाले बंगलादेशको लोकतान्त्रिक यात्रा अन्योलमा परेको छ ।

पछिल्लो घटनासँगै करिब दुई दशकपछि फेरि बंगलादेशको सेना सत्ताको केन्द्रमा आइपुगेको छ । अवामी लिगकी शेख हसिना र बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की बेगम खालिदा जियाबीचको ‘बेगम–युद्ध’ का कारण बंगलादेशमा २००६ मा सेनाले सत्ता हातमा लिएको थियो । तर, २००८ मा निर्वाचनपछि हसिना निरन्तर सत्तामा थिइन् भने खालिदा जियाको दल दमनले सीमान्तकृत भएको थियो ।

पछिल्लो आन्दोलन भने आरक्षणको व्यवस्थाविरुद्ध सुरु भएको हो । सन् १९७१ मा पाकिस्तानबाट अलग भएर बंगलादेशलाई स्वतन्त्र बनाउने ‘मुक्ति बाहिनी’ का सदस्यलाई स्वतन्त्रता सेनानीको सम्मान छ । स्वतन्त्रता सेनानीका सन्तानका लागि सरकारी जागिरमा ३० प्रतिशत आरक्षणको व्यवस्था गरिएको थियो । स्वतन्त्रता सेनानी र उनका छोराछोरीले आरक्षणको सुविधा पाइसकेका छन् भने अब उनीहरूका नाति–पनातिलाई पनि ३० प्रतिशत नै जागिर छुट्याउनुपर्ने भएपछि युवा विद्यार्थीहरूबीच असन्तोष बढेको थियो ।

सन् २०१८ मा गरिएका विरोध प्रदर्शनपछि हसिना सरकारले ३० प्रतिशत आरक्षण घटाएर ६ प्रतिशतमा सीमित गरेको थियो । तर, स्वतन्त्रता सेनानीका सन्तानले दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालतले दुई महिनाअघि ५ जुनमा आरक्षण पुनःस्थापित गरिदिएपछि विद्यार्थी आन्दोलन सुरु भएको हो । आन्दोलन चर्केसँगै सर्वोच्च अदालतले उच्च अदालतको फैसला खारेज गरिदिएको थियो ।

सर्वोच्चको आदेशपछि आन्दोलन रोकिने अपेक्षा गरिएको थियो । तर, आन्दोलनकारी विद्यार्थीप्रति हसिनाले गरेको टिप्पणी इन्धन बन्यो । केही साताअघिको पत्रकार सम्मेलनमा हसिनाले स्वतन्त्रताप्रेमीका सन्तानले पाएको आरक्षणलाई स्वतन्त्रताविरोधी शक्तिहरूले अस्वीकार गरेको आरोप लगाएकी थिइन् । ‘स्वतन्त्रता युद्ध लड्नेका सन्तानले कोटा नपाउने हो भने के रजाकारका सन्तानले पाउने हो ? मेरो प्रश्न यही हो,’ उनले भनेकी थिइन् । स्वतन्त्रता आन्दोलनमा पाकिस्तानी फौजका पक्षमा लडेका बंगालीहरूलाई रजाकार (देशद्रोही) मानिन्छ ।

आरक्षण खारेजीको माग गर्दै प्रदर्शन गरिरहेका विद्यार्थीलाई प्रधानमन्त्रीले ‘देशद्रोही’ र ‘आतंकवादी’ को संज्ञा दिएपछि आन्दोलन हसिनाको गद्दीतर्फ सोझियो । उक्त अभिव्यक्तिपछि विद्यार्थीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आन्दोलन चर्काए । त्यसका साथै आन्दोलनका क्रममा मारिएका दुई सयभन्दा बढी सहपाठीको न्यायका लागि भन्दै विद्यार्थीहरू पुनः सडकमा उत्रिए । हसिना सरकारले विद्यार्थीमाथि चरम दमन गर्दा आइतबार मात्रै करिब ९४ जनाको ज्यान गएको थियो, तर आन्दोलन झन् चर्किएपछि एसियाकै शक्तिशाली महिलाको परिचय बनाएकी हसिनाको १६ वर्ष लामो शासन अन्त्य मात्र भएन, उनले हतारहतार देश छाड्नुपर्‍यो ।

यसको अप्रत्यक्ष प्रभाव भारत नेपाल पाकिस्तानतर्फ फैलन सक्ने एकथरी बुद्धिजीवीहरूको तर्क रहेको छ ।

अर्कोतर्फ बंगलादेशका विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लामले अन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री प्रध्यापक मोहम्मद युनुसको नाम प्रस्ताव गरेका छन् । उनले राष्ट्रपतिलाई जतिसक्दो चाँडो युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउन आग्रह गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देशमार्फत उनले उक्त प्रस्ताव गरेका हुन् । उक्त समयमा उनका साथ कोअर्डिनेटर आसिफ महमूद र अबू बक्र मजुमदार पनि उपस्थित थिए ।

उनले त्यसबारेमा युनुससँग आफ्नो छलफल भइसकेको जनाएका छन् । आफूले गरेको सिफारिसभन्दा अरूको नेतृत्वमा सरकार बनाइए अस्वीकृत गरिने उनले जनाएका छन् । उनले सेना नेतृत्वको सरकार पनि अस्वीकार गरिने बताएका छन् ।



251 Views

Comments