भोटो जात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

२० श्रावण, २०८१,१४:३२

२० साउन, काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्राको अवसरमा आज आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । त्यसैगरी आजनै भोटो जात्रा पनि देखाइने भएको छ । भोटो जात्रालाई करिब ८ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात), वला (छर्नै) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको किंवदन्ति रहेको छ । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।

भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागे पनि रातो मच्छिन्द्रनाथको जात्रा भने करिब १३ सय वर्षअघि देखि नै सुरु भएको मानिन्छ । किंवदन्तीअनुसार यो जात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात टौदह लगे ।

डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।

मनुष्यरुपी भूत आयर भोटो लग्यो । किसानले खोजे तर पाएनन् । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यरुपी भूतले लगाएको देखेर किसानले दावी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोट नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो ।

सोही वेलादेखि आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । सोही वेलादेखि प्रत्येक वर्ष साइत हेराएर भोटो देखाउँने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती रहेको छ ।

पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्रध्याक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रामा आज राष्ट्रपति रामचन्द्र पौडेल पनि सहभागी हुने कार्यक्रम रहेको छ ।



213 Views

Comments