पेरिस ‌ओलम्पिक : नेपालका ६ खेलाडी समूह चरणमा नै पराजित, महिला म्याराथनमा झिनो आशा अझै बाँकी

१६ श्रावण, २०८१,१६:०७

१६ साउन, काठमाडौँ । एथलेटिक्सको महिला म्याराथन (४२.१९५ किलोमिटर) सन्तोषी श्रेष्ठले अगष्ट ११ मा हुने पेरिस ओलम्पिकको अन्तिम दिन प्रतिस्पर्धा गर्ने छिन् । सन्तोषीको प्रतिस्पर्धा नै नेपालको अन्तिम प्रतिस्पर्धा हुनेछ । नेपालबाट पेरिस ओलम्पिकको विभिन्न खेलमा प्रतिस्पर्धा गर्न पेरिस पुगेका ७ जना प्रतिस्पर्धी मध्ये ६ जना प्रतिस्पर्धी समूह चरणमा नै पराजित भएका छन् ।

समूह चरणको अन्तिम खेल ब्याडमिन्टनमा आज इजरायलका मिसा गिल्बरम्यानसँग प्रिन्स २–० को सोझो सेटमा पराजित भए । १६ मिनेट चलेको खेलको पहिलो सेटमा प्रिन्स १२–२१ ले पराजित भए । यसैगरी २० मिनेटको दोस्रो सेट प्रिन्सले १०–२१ ले गुमाए । समूह ‘पी’ मा रहेका प्रिन्सले यसअघि डेनमार्कका भिक्टर एक्सेल्सन र आयरल्यान्डका नाट गुयेनकासँग पनि समान २–० सेटको हार ब्यहोरेका थिए ।

यससँगै पेरिस ओलम्पिक २०२४ मा सहभागी सात जना खेलाडीमध्ये छ जना खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् । यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह बाहिरिइसकेका छन् । अब सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्न बाँकी छ ।

यसैबीच पेरिस ओलम्पिक २०२४ मा ८१ पदकको छिनोफानो भएको छ । जापान पहिलो अष्ट्रेलिया दोस्रो र अमेरिका तेस्रो भएको छ । हालसम्म २० देशले पदक जित्न सफल भएका छन् ।




152 Views

Comments