‘सरकारले रंगकर्मी र चलचित्रकर्मीलाई उपेक्षा गरेको छ’, रंगकर्मी तथा अभिनेता बराल

१६ श्रावण, २०८१,१४:०२

१६ साउन, काठमाडौँ । रंगमञ्चको यात्रा गुरुकुलबाट सुरु गर्नुभएका विजय बराल सरकारले रंगकर्मी र चलचित्रकर्मीलाई उपेक्षा गरेको बताउँनुहुन्छ । उहाँ भाषा, कला संस्कृति, रीति रिवाजलाई जगेर्णा गर्न सके मात्र नेपालको पहिचान झल्कने छ, जसले गर्दा विदेशी पर्यटकसमेत त्यसलाई हेर्न नेपाल आउँछन् भन्नुहुन्छ । चाहे रंगमञ्चमा नाटक मञ्चन गर्ने रंगकर्मी हुन वा चलचित्रमा अभिनय गर्ने अभिनेता, यी दुवै विधामा काम गर्ने कलाकारहरूले देशमा भइरहेको कुरीति, विसंगति, विकृतिलाई कथा र पात्रको समुचित प्रयोगले भण्डाफोर गरी समाज र व्यक्तिलाई समयनुसार चल्न झक्झक्याइ रहने बताउँनुहुन्छ । रंगमञ्चबाट कलाकारितामा प्रवेश गर्नुभएका उहाँ हाल चलचित्रमा सहायक पात्रको रुपमा चर्चित हुनुहुन्छ । उहाँ केही वर्षभित्र नै दर्शकहरूले चलचित्रमा मुख्य भूमिकामा पनि देख्न पाउँने बताउँनुहुन्छ । उहाँसँग एक वर्ष भारतमा अभिनय सिकेको अनुभवसमेत छ ।

रङ्गमञ्चबाट कलाकारिता क्षेत्रमा प्रवेश गरी नेपाली सिनेमामा आम दर्शकहरूले मनमा बस्न सफल उनै सरल स्वभाव भएका विलक्षण प्रतिभाका धनी विजय बरालसँग भूगोल पार्कका समाचारदाता करुण सिंहले “समकालिन संवाद” मा गरिएको कुराकानीका सम्पादित अंश :

रंगमञ्चमा नाटक मञ्चन गर्न सजिलो हुन्छ कि चलचित्रमा अभिनय गर्न ?

रंगमञ्चमा नाटक मञ्चन गर्न महिना दिनदेखि तयारी हुन्छ । आफूलाई दिएको भूमिका निर्धक्क साथ रंगमञ्चमा नाटक प्रहशन गर्न सकिन्छ । तर चलचित्रमा आफूलाई दिएको अलग अलग भूमिकामा तुरुन्त तयार भएर अभिनय गर्नुपर्छ । निर्देशकले दिएको डाइलक याक्सन भनेपछि सुरु गर्नुपर्छ र कट भनेपछि बन्द गर्नुपर्छ । कुनै डाइलक ६/७ टेक लिनुपर्ने हुन्छ । त्यसैले रंगमञ्चमा नाटक मञ्चन गर्नभन्दा चलचित्रमा अभिनय गर्न कठिन छ । तर पनि चलचित्रमा राम्रो कमाइ हुने भएकाले मेरो रुचि चलचित्रमा छ ।

चलचित्र क्षेत्रको विकासमा सरकारले खेलेको भूमिका कस्तो देख्नुहुन्छ ?

सरकारले संगितकर्मी, रंगकर्मी र चलचित्रकर्मीलाई सधै उपेक्षा गरेको छ । चलचित्र एकेडेमीमा बजेटको निकै कम छ । यसतर्फ राज्यको ध्यान तुरुन्त जानुपर्छ र चलचित्र एकेडेमीका पदाधिकारीले पनि रंगकर्मी र चलचित्रकर्मीहरूको आवाज वुलुन्द पार्दै सरकारलाई झक्झक्याइ रहनुपर्छ । राज्यको चौथो अंग तपाईहरू जस्ता पत्रकारले पनि रंगकर्मी र चलचित्रकर्मीहरूको हक हितको लागि कलम चलाउँनुपर्छ ।

सरकारले भन्दा बरु हामीले संगित तथा नाटक विधामा नयाँ प्रतिभा आउँन सकुन र आफूलाई समेत विभिन्न विधामा रेहसल गर्न सजिलो होस भनेर दया र बुद्धि दाइको पहलमा बानेश्वरमा ड्रामा स्कुल खोलेका छौँ । नि:शुल्क तालिम दिएको पनि एक वर्ष भन्दा बढि भएको छ । हामीले ६ महिना र तीन-तीन महिना गरी धेरै पटक नि:शुल्क तालिम चलाइसक्यौँ । अभिनयकला, उद्घोषणकला आदि विविध विधामा पहिलो सेसनमा १६ र दोस्रो सेसनमा १२ जनालाई नि:शुल्क तालिम दिएका थियौँ । अहिलेसम्म २५० जना भन्दा बढी विद्यार्थीलाई यस विधामा तालिम दिइसका छौँ ।

नेपालमा रंगमञ्च र चलचित्र क्षेत्रको विकास गर्न सरकारले कस्तो कुरामा विशेष ध्यान दिनुपर्छ ?

चाहे रंगमञ्चमा नाटक मञ्चन गर्ने रंगकर्मी हुन वा चलचित्रमा अभिनय गर्ने अभिनेता, यी दुवै विधामा काम गर्ने कलाकारहरूले देशमा भइरहेको कुरीति, विसंगति, विकृतिलाई कथा र पात्रको समुचित प्रयोगले भण्डाफोर गरी समाज र व्यक्तिलाई समयनुसार चल्न मार्गनिर्देशन गरिरहेको हुन्छ । अर्कोतर्फ विदेशी पर्यटकहरू नेपालको भाषा, कला संस्कृति, रीति रिवाजलगायत ऐतिहासिक पुरातात्विक तथा सांस्कृतिक मठमन्दिर हेर्न नेपाल आउने गर्छन् । उनीहरूलाई गगनचुम्बि भवनहरूको महत्व हुँदैन् । त्यसैले सरकारले माथिका कुरामा विशेष ध्यान दिनुपर्छ । सुटिङ स्पोटको विकास गर्दै लानुपर्छ ।

पछिल्लो समय काठमाडौँको मेयर बालेन निकै चर्चामा छन् । तपाईलाई उहाँ कस्तो लाग्छ ?

म सबै नेताहरूको राम्रा कामको प्रशंसा गर्ने र नराम्रो कामको विरोध गर्ने मानिस हूँ । बालेनले काठमाडौँमा गरेका केही काम मलाई पनि मन परेको छ । तर उनको ५ वर्षे कार्यकालकै मूल्याङ्कन गर्ने बेला अहिल्यै भइ नसकेकाले समग्रमा उहाँको काम राम्रो नराम्रो अहिल्यै भन्न हतार हुन्छ । फेरि राम्रो काम गर्ने मानिसले सधै राम्रो काम गर्छन् भन्ने मलाई लाग्दैन् । हाम्रा देशका सरकार तथा नेताहरूले पनि त केही राम्रा काम गरे कै छन् । अझ राम्रो काम गर्नका लागि नागरिकले खवरदारी गरेकै छन् । त्यसैले हामीले राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेलाई कुनै राजनीतिक आग्रहपूर्वाग्रह नराखी नराम्रो भन्न सक्नुपर्छ ।

अन्तिममा तपाईको विचारमा सफल कलाकार बन्न के गर्नुपर्छ जस्तो लाग्छ ?

भूतकालको अनुभवबाट पाठ सिकेर वर्तमान समयमा उद्देश्य कम र काम धेरै गरी अविचलित रुपमा लगातार कलाकारिता क्षेत्रमा नै अगाडि बढ्न सकेको खण्डमा भविश्यमा सफल कलाकार बन्न सकिन्छ । तर सानोतिनो ठक्कर र हन्डरबाट विचलित भएर कलाकारिता क्षेत्रबाट बाहिरिनुहुँदैन् । अहोरात्र अविचलित भइ काम गर्न सकेको खण्डमा एवं सिनियर कलाकार र दर्शकहरूले दिएको सल्लाह सुझाव ग्रहण गरी आफूलाई समयअनुसार परिमार्जित गर्दै लान सकेको खण्डमा एक दिन अवश्य सफल हुइन्छ भन्ने लाग्छ । त्यसको लागि कडा मेहनतका साथ कर्म गर्न छोड्नुहुँदैन् । लामो धैर्यताको पनि आवश्यक्ता रहन्छ ।



182 Views

Comments