आलेखः बडिमालिका क्षेत्रको पर्यटकीय गुरुयोजना बनाउन माग

१६ श्रावण, २०८१,१२:५६

१६ साउन, मान्म (कालीकोट) । कालीकोटको र बाजुरा जिल्लाको बडिमालिका क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण क्षेत्र हो । बडिमालिका क्षेत्रसँग जोडिएको त्रिवेणी पाटन पनि पर्यटन क्षेत्रको दृष्टिले राम्रो सम्भावना रहेर पनि अहिलेसम्म यसको गुरुयोजना बन्न नसक्दा यी क्षेत्रहरूको विकाससँगै प्रतिफल लिन नसकिएको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ । बर्खायाममा हरियाली फाँटका दृश्यले भू–स्वर्ग झैँ लाग्ने त्रिवेणी पाटन हिउँदमा हिउँले ढाकिएर झनै मनै लोभ्याउने गरेको छ । कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–८ को मुम्रा लेकमा पर्ने त्रिवेणी पाटन पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो ।

यो कालीकोट र बाजुरा जिल्लाको सिमानामा पर्ने बडिमालिका धार्मिक मन्दिरका कारणले पनि चर्चामा रहेको छ । समुद्र सतहबाट चार हजार दुई सय १९ मिटर उचाइमा रहेको त्रिवेणी पाटन सौन्दर्यका दृष्टिले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ टेक्न पाइने र मनोरम प्राकृतिक दृश्यहरू त्रिवेणी पाटनका विशेषताहरू हुन् । त्रिवेणी पाटन घुम्नलाई वैशाखदेखि असोजसम्मको समय उत्तम मानिन्छ । नजिकै रहेको बडिमालिका मन्दिरमा साउन जनैपूर्णिमाको अघिल्लो दिन मेला लाग्ने गर्छ । मेला भर्न नेपालका विभिन्न जिल्ला र भारतबाट पनि हजारौँ मानिस बडिमालिका पुग्ने गरेको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताउनुभयो ।

त्रिवेणी पाटन आसपासमा रहेका २२ वटा पाटनमा सयौँ प्रजातिका फूल फुल्छन् । यो क्षेत्रका ३२ वटा पाटनमध्ये १२ वटा पाटन कालीकोट र २० वटा बाजुरामा पर्दछन् । त्रिवेणी पाटन क्षेत्रमा कस्तुरी, मृग, हिउँचितुवा, हिमालयन थार, हिमाली भालु, वन कुकुर, नायरलगायत वन्यजन्तु पाइन्छ । “यो क्षेत्र प्राकृतिक हिसाबले मात्र सुन्दर नभएर यहाँ पाइने जङ्गली जनवार पनि आकर्षणका केन्द्रविन्दु पनि हो,” अछाम रामारोशन गाउँपालिका–५ का स्थानीय डम्बर रोकाया भन्नुहुन्छ । कालीकोट, बाजुरा र अछाम जिल्लाका स्थानीयवासीको अछाम रामारोशन ताल, कालीकोटको त्रिवेणी पाटन र बाजुराको बडिमालिका क्षेत्रलाई जोडेर पर्यटकीय गुरुयोजना बनाउनुपर्ने स्थानीयको माग रहेको छ ।

अछामको रामारोशन तालबाट एक दिनको दूरीमा त्रिवेणी पाटन र बडिमालिका पर्ने भएकाले विगतमा अछाम, बाजुरा र कालीकोटका स्थानीय तहका जनप्रतिनिधि बसेर पर्यटकीय गुरुयोजनाका लागि केही छलफल भएको र त्यसले मूर्त रुप लिन नसकेको अछाम रामारोशन गाउँपालिकाका पूर्वअध्यक्ष झङ्कर साउदले बताउनुभयो । “विगतमा हामीले पर्यटकीय गुरुयोजना बनाउनका लागि यसको प्रचारप्रसार गर्नका लागि कालीकोट, अछाम र बाजुराका स्थानीय तहका जनप्रतिनिधि बसेर छलफल गरेका थियौँ”, उहाँले भन्नुभयो, “त्यसले खासै मूर्त रुप लिन सकेन । अहिले त्यसका लागि पहल गर्न आवश्यक रहेको छ ।” बडिमालिका क्षेत्रको इलाका ठूलो रहेको छ । यसले बाजुराको क्षेत्रको बढी भू–भाग ओगटेको, यसले कालीकोट र अछाममा केही भाग पनि नजिकै पर्दछन् ।

कालीकोट र अछामका ती भागमा रामारोशन ताल र त्रिवेणी पाटन पनि पर्ने गरेका कारणले विगतमा यस क्षेत्रको पर्यटकीय विकासमा ध्यान दिन सकेमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने व्यवसायीहरूको भनाइ छ । बडिमालिका, त्रिवेणी पाटन र रामारोशन क्षेत्र घना जङ्गल भएको क्षेत्र भएकाले यो क्षेत्रमा ४५ भन्दा बढी प्रजातिका दुर्लभ तथा बहुमूल्य जडीबुटी पाइने गरेको छ । पाँचऔँले, सुनपाती, चिराइतो, पाखनवेद, काउलो, चुत्रो, पावन काउलो रातो च्याउ, अल्लो, कटुकी, सुगन्धवाल, चिराइतो, कुरिलो, गुच्ची च्याउ, पदमचाल जस्ता जडीबुटी पाउने क्षेत्र हो । विषजरा, मधुजडी, धुपजडी, वनलसुन, बायोजडी, निनाइजडी, भूतकेश जटामसीलगायत दर्जनौँ प्रजातिका जडीबुटी अहिले लोप हुने अवस्थामा पुगेको कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–८ का दलबहादुर केसीले बताउनुभयो ।

यस क्षेत्रमा ब्रह्मकमल, बुकी फूल, जाई, जुई चमेली, सुन जाई, इन्द्रकमल, सेतो गुराँस, चाँप, चिमालोलगायत एक सयभन्दा बढी प्रजातिका दुर्लभ फूलहरू पाइन्छन् । अहिले बर्खायाममा विभिन्न जिल्लाबाट चराउनका लागि ल्याइएका भेडा, च्याङ्ग्रा र घोडाहरू वैशाखदेखि असोजसम्म यहाँ छाडा रुपमा चराउने चलन छ । ठूलो सङ्ख्या भेडा, च्याङ्ग्रा र घोडाहरूले लामो समय चरिचरन गर्दा पनि यहाँको जैविकता लोप हुने अवस्थामा रहेको देखिन्छ । बडिमालिका क्षेत्र बाजुराको त्रिवेणी नगरपालिका, बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिकामा, कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिका पर्दछ । अछामको रामारोशन गाउँपालिकाको बीचमा पर्दछ ।

बडिमालिका धार्मिक तथा पर्यटकीय दुवै दृष्टिबाट चर्चित गन्तव्य, पाँच महिना हिउँ र चार महिना कुहिरोले ढाक्ने प्रकृतिको अनुपम उपहार हो । बडिमालिका क्षेत्रबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै जिल्लाको अवलोकन गर्न सकिन्छ । बडिमालिकामा पर्ने पाटन क्षेत्रको कूल क्षेत्रफल कति छ भन्ने कुराको आधिकारिक मापन नभएकाले यो क्षेत्रफल कति पर्छ भन्ने अहिलेसम्म पनि मापन नभएको कालीकोट रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताउनुभयो । “यसको क्षेत्रफल कति भन्ने अहिलेसम्म मापन हुन सकेको छैन,” उहाँले भन्नुभयो, “क्षेत्रफल मापनका लागि हामीले पहल गरिरहेका छौँ ।” कर्णाली र सुदूरपश्चिम प्रदेशले बडिमालिका आफ्नो क्षेत्रमा पर्ने भन्दै पर्यटन प्रवद्र्धनका लागि बर्सेनि ठूलो रकम लगानी गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

बाजुरा जिल्लामा रहेको धार्मिक आस्थाको केन्द्र बडिमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिबाट प्रचुर सम्भावना छ । धार्मिक आस्थाको केन्द्र बडिमालिकामा प्रत्येक वर्ष जनैपूर्णिमाका दिन विशेष पूजा हुने गर्दछ । त्यस दिन सबै तीर्थालुहरू बडिमालिकाको चुचुरोमा पुगिसकेका हुन्छन् । वर्षको दुईपटक गङ्गा दशहरा र जनैपूर्णिमाको अघिल्लो दिन साउने चतुदर्शीका दिन भव्य मेला लाग्ने गरेको छ । गङ्गा दशहराभन्दा साउने चुतदर्शीका दिन दर्शनार्थीको घुइँचो बढी हुने गरेको कालीकोट नरहरिनाथ गाउँपालिकाका–१ का कटकबहादुर विष्टले बताउनुभयो । मालिका देवीको स्वागतका लागि बाजुरालगायत कालीकोट, डोटी, हुम्ला र जुम्ला जिल्लाबाट सयुक्त टाँगो (पूजापाठमा आवश्यक पर्ने सामग्री) सहितको टोली आउने गरेको छ ।

बडिमालिका दर्शनका लागि तत्कालीन शाह राजाको दरबारबाट पनि पूजाआजाको सामग्री पुग्ने गरेको छ । त्रिवेणी पाटनमा हिउँमा खेलिने स्की खेलका लागि उपयुक्त क्षेत्रका रुपमा रहेको छ । नेपालमा कमै खेलिने स्की खेलका लागि कालीकोटको रास्कोट नगरपालिकाको छेत्तडी र सान्नी त्रिवेणी गाउँपालिकाको त्रिवेणी पाटन स्की खेलका लागि उपयुक्त क्षेत्रका रुपमा रहेको छ । कर्णालीलाई साहसिक खेल पर्यटनको गन्तव्यका रुपमा विकास र स्की खेलाडी उत्पादन गर्ने उद्देश्यले स्कीसम्बन्धी गत फागुन २८ देखि चैत ४ गतेसम्म स्की खेलको तालिमको आयोजना भएको थियो । स्कीसम्बन्धी आधारभूत तालिमले कर्णालीको साहसिक खेल पर्यटनमा टेवा पुग्ने पर्यटन व्यवसायी तथा कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकायाले बताउनुभयो ।

“कर्णालीका प्रायः सबै ठाउँमा स्की खेलका लागि उपयुक्त क्षेत्र नै रहेका छन्”, उहाँले भन्नुभयो, “त्यसका लागि सबैभन्दा उपयुक्त ठाउँ बडिमालिका क्षेत्रभित्र पर्ने कालीकोटको रास्कोटमा पर्ने छेत्तडी र सान्नी त्रिवेणीको त्रिवेणी पाटन उपयुक्त रहेका छन् ।” कर्णालीको साहसिक पर्यटनका क्षेत्रमा स्की खेल पनि एउटा रहेको र स्की खेलका लागि आफूहरुले पहिलोपटक रास्कोट छेत्तडीमा स्की खेलको तालिम सञ्चालन गरेको स्की सङ्घ कर्णाली प्रदेशका सचिव सह–सचिव मनराज सिम्खडाले बताउनुभयो । दक्ष खेलाडी उत्पादन गरी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा खेलको विकास गर्दै पर्यटनसँग जोड्न सहयोग पुग्ने उहाँको भनाइ छ ।



227 Views

Comments