१५ साउन, काठमाडौँ । आज साउने पन्ध्र पर्व खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । असार–साउन मासको धान रोपाइँमा हिलोमा काम गर्दा चिसोले गर्ने असर कम गर्न मध्य साउनमा खिर खाने परम्परा बसेको बूढापाकाको भनाइ छ ।
यसपटक ठिक समयमा बीउ नहुनु र पानी नपुग्नुले किसानले अपेक्षित धान रोपाइँ गर्न सकेका छैनन् । साउन १५ अघि रोपाइँ सकिने पुरानो चलनअनुसार हिलो उतार्न साउने पन्ध्र पर्वको परम्परा चले पनि यसपालि धान रोप्न नपाइँदा किसानले खुसी मनले साउने पन्ध्र मनाउन पाएका छैनन् । अझैपनि महोत्तरी लगायत तराईका केही जिल्लामा ५० प्रतिशत रोपाँइ हुन बाँकी छ । वर्षभरि गुजारा चलाउने मुख्यबाली धान रोपाइँ राम्रो नभएपछि खुसीले भन्दा परम्परा थेग्नमात्र साउने पन्ध्र पर्व मनाइँदै गरिएको सर्वसाधारण किसानको भनाइ छ ।
तर पनि कृषकहरू यो पर्वमा खिर खाने परम्परा थेग्न बिहानैदेखि दूधको जोहोमा लागेको बताउँछन् । साउने पन्ध्र पर्वमा विवाह भएर गएका छोरीचेली र ज्वाइँ चेलालाई निम्ता गरेर खिर खुवाउने पुरानो परम्परा छ ।
Comments