१४ साउन, कञ्चनपुर । बासस्थानमा सुधार भएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेर ३६ पुगेको छ । बासस्थानमा सुधार आएसँगै आहारा प्रजातिका जनावर प्रयाप्त हुनुका साथै चोरी शिकारी नियन्त्रणले पाटेबाघको सङ्ख्या बर्सेनि बढ्दै गएको हो । निकुञ्जमा भाले पाटेबाघ १२, पोथी १६ र अन्य आठ गरी ३६ वटा बाघ रहेका कार्यालयका सूचना अधिकारी मनोज ऐरले जानकारी दिनुभयो । उहाँका अनुसार ३६ मध्ये २८ बाघ क्यामेरा ट्रयापिङामा देखा परेका हुन् । सन् २०१९ अघिसम्म पाटेबाघको सङ्ख्या निकुञ्जमा १७ थियो । त्यसपछि बाघको सङ्ख्या बढदै गएर दोब्बर भएको ऐरले बताउनुभयो ।
थोरै क्षेत्रफल भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाघको धेरै घनत्व भएको क्षेत्रका रूपमा रहेको सूचना अधिकारी मनोज ऐरको भनाइ छ । “निकुञ्जको कोर क्षेत्रमा रहेको शुक्लाफाँटमा सबैभन्दा बढी बाघको घनत्व रहेको छ”, उहाँले भन्नुभयो, “त्यसपछि निकुञ्जको चौधर नदी आसपासको क्षेत्र, शिकारी ताल क्षेत्र बाघको बासस्थानका रुपमा रहेको छ ।” अनुगमनका क्रममा चुरे क्षेत्रमा पनि एउटा पाटेबाघ देखापरेको उहाँले जानकारी दिनुभयो । ऐरका अनुसार पाटेबाघको आहारा प्रजातिका लागि चरन क्षेत्रमा सुधार भएसँगै पानीको कमी हुन नदिन निकुञ्जभित्र कृत्रिम पोखरी निर्माण गरी निरन्तर रूपमा पानीको व्यवस्था गरिँदै आइएको छ । निकुञ्जमा ५५ बढी सानाठूला प्राकृतिक ताल छन् । “निकुञ्ज नजिकै भारतीय दुधुवा नेशनल पार्क पर्दछ । बाघले सीमा वारपार गर्ने भएकाले पनि कहिलेकाही बाघको सङ्ख्या कमबढी देखिन्छ । पाटेबाघ भारतीय लग्गा वग्गा नेशनल पार्क हुँदै पिलिभितसम्म ओहरदोहर गर्ने गरेको पाइएको छ”, ऐरले भन्नुभयो ।
उहाँका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार संरक्षित वन्यजन्तु (अनुसूची १०) मा पाटेबाघ सूचीकृत छ । सन् १९७४ देखि मात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ संरक्षण गर्न थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार पाटेबाघ मार्ने तथा यसका अङ्गको चोरी शिकारीमा संलग्न व्यक्तिलाई १५ वर्ष कैद र रु १० लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ । बाघ गणनाको कार्य भने सन् १९९९ देखि हुँदै आएको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जको तीन सय पाँच वर्ग किलोमिटर क्षेत्र पाटेबाघको मुख्य बासस्थानका रूपमा रहेको छ ।
Comments