१४ साउन, काठमाडौँ । २०४५ सालमा सर्लाहीको लालबन्दीमा जन्मेका उनी स्कुलदेखिनै क्यारीकेचरमा रमाउने गर्नुहुन्थ्यो । पैसा नपाए तापनि आफ्नो रुची पूरा गर्न आफूले स्कुल जीवन देखिनै यस क्षेत्रमा अगाडि बढेको उहाँले बताउँनुभयो । सानै उमेरदेखि अभिनय क्षेत्रमा अव्वल उहाँले एस. एल.सी प्रर्थम श्रेणीमा उतिर्ण गरी छात्रावृद्धि उच्च माध्यमिक शिक्षासमेत उतिर्ण गर्नुभयो । २०६२/६३ को जनआन्दोलन तथा मधेश आन्दोलनले देश नै आक्रान्त भएको बेलामा नै उहाँ अध्ययन र अभिनयकलामा निपूर्ण हुने सपना बोकेर थोरै रकमको जोहो गरेर काठमाडौँ छिर्नुभएको थियो । उहाँले स्नातक मिनभवन काठमाडौँबाट गर्नुभएको थियो भने एक वर्ष भारतमा अभिनय सिक्नुभएको थियो ।
रङ्गमञ्चबाट कलाकारिता क्षेत्रमा प्रवेश गरी नेपाली सिनेमामा आम दर्शकहरूले मन पराउँनुभएका उनै सरल स्वभाव भएका मुर्धन्य व्यक्ति विजय बरालसँग भूगोल पार्कका समाचारदाता करुण सिंहले “समकालिन संवाद” मा गरिएको कुराकानीका सम्पादित अंश :
तपाई अभिनय क्षेत्रमा प्रवेश कहिले गर्नुभयो ?
१७/१८ वर्ष पहिला गुरुकुलमा सुनिल पोख्रेलको नाटक हेरे । त्यही गुरुकुलमा ४५ दिने नि:शुल्क अध्ययन र अभिनय गरे । पछि मण्डलाथ्रेटरमा जोडिए । मैले थ्रेटरमा देखाएको पहिलो नाटक 'अन्दा युग' हो । सो नाटकमा मैले महाभारत पौराणिक पात्र कृपाचार्यको अभिनय गरेको थिए । मैले राष्ट्रिय नाचघरलगाएत मण्डलाथ्रेटरबाट दर्जनौ नाटकको अभिनय गरेको छु ।
तपाई रङ्गमञ्चको कलाकार कसरी नेपाली सिनेमामा छिर्नुभयो ?
रङ्गमञ्चमा मञ्चन गरिएको नाटक पढेलेखेका वा कलाकारिता र नाटक क्षेत्रमा विशेष रुची भएका निश्चित व्यक्तिहरूले मात्र हेर्ने भएकाले जीविकोपार्जन गर्न कठिन देखे र सिनेमा अभिनय गर्न थाले । रङ्गमञ्चमार्फत चलचित्रमा उदाएका कलाकार अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कर्मा, विपिन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, रवीन्द्रसिंह बानियाँ, कमलमणी नेपाल, महेश त्रिपाठी, बुद्धि तामाङलगायतका साथीहरू अहिले पनि चलचित्रमा अभिनय गरिरहनुभएको छ । त्यसैगरी सर्लाही जिल्लाबाट नारायण खतिवडा, जल शाह, निखिल उप्रेती आदि कलाकारहरूले समेत चलचित्रमा कुशल अभिनय गरेको देखे । म पनि उहाँहरूबाट प्रभावित भएर नेपाली सिनेमामा छिर्नपुगे । यस क्षेत्रमा लाग्न परिवारको समेत साथ सहयोग र दर्शकहरूको हौसला मेरो लागि प्रेरणाको स्रोत बन्यो ।
तपाईले अभिनय गर्नुभएको पहिलो सिनेमा कुन हो ?
मैले अभिनय गरेको पहिलो सिनेमा 'छड्के' हो तर मलाई आम दर्शकमाझ कबड्डी फिल्मले चिनायो । उक्त फिल्ममा 'विके' पात्रको रुपमा मैले अभिनय गरेको थिए । विल्सन विक्रम राईको निर्देशनमा बनेको कमेडी र लभस्टोरी कथानाक चलचित्र ‘लाउरे एण्ड दाउरे’ मा मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र बुद्धि तामाङ हुनुहुन्छ । मचाँही सहायक भूमिकामा छु । त्यसैगरी ‘पूर्णबहादुरको सारंगी’ जुन सोसल ड्रामा फिल्मको थिम छ । त्यस चरित्रमा बुबाको रुपामा बाल कलाकारसँग संवाद गरेको छु । मैले हालसम्म एक दर्जनभन्दा बढी सिनेमामा अभिनय गरिसकेको छु ।
नेपाली सिनेमामा अभिनय गरेर परिवार पाल्न सकिन्छ ?
मेरो ठूलो अपेक्षा छैन् । ठूलो अपेक्षाले परनिर्भरता बढाउँछ । मेरो सपना कलाकारिता क्षेत्रमा लागेर अभिनय गर्ने थियो । जीवनमा अनेकौँ आरोह अवरोह नआएका हैनन् तर म सन्तुष्ट छु । धेरै पैसा कमाउँने ठूलो सपना छैन् । मेरो कमाइले परिवार पाल्न र आफू पाल्लिन पुगेको छ ।
अन्तरवार्ताका बाँकी भाग अर्को भागमा सम्पादन गरिनेछ । पढन नभूल्नुहोला ।
Comments