पेरिस ओलम्पिकको भव्य रुपमा उद्घाटन

१२ श्रावण, २०८१,१६:२४

१२ साउन,काठमाडौँ । पेरिसमा ३३औँ गृर्ष्मकालिन ओलम्पिकको भव्य रुपमा उद्घाटन शुभारम्भ भएको छ । गएराति ११:४५ बजे फ्रान्सको राजधानी पेरिस ओलम्पिकको भव्य रुपमा उद्घाटन भएको हो ।

विभिन्न देशबाट विभिन्न विधाका खेलका लागि ६ हजार ८०० खेलाडी सहभागी छन् । प्रत्येक देशका प्रतिनिधिमण्डललाई ८० भन्दा बढी डुंगामार्फत परेड गराइएको थियो । गएराति ११:४५ बजे पेरिसमा भएको उद्घाटन समारोहमा विभिन्न विश्वप्रसिद्ध कलाकारहरूले प्रस्तुती दिएका थिए ।

ओलम्पिकमा २०६ ओलम्पिक राष्ट्रिय टिमको सहभागिता रहनेछ । यसमध्ये एशियाका ४४ वटा देशहरूले भाग लिदैँ छन् । ओलम्पिकमा शरणार्थी टिमको समेत सहभागिता रहनेछ । नेपालले सन् १९६४ देखि ओलम्पिकमा भाग लिन सुरु गरेको थियो । पेरिस ओलम्पिकमा विभिन्न ३२ वटा खेलका ३२९ वटा इभेण्टस् सञ्चालन हुँदैछन् ।

ओलम्पिकमा भाग लिन नेपाली खेल टोली पनि पेरिस पुगिसकेका छन् । यसपालि एक जना नेपाली टेबुल टेनिस खेलाडी स्याण्टु श्रेष्ठ छनोट प्रतियोगिता जितेर ओलम्पिकमा भाग लिन गएका छन् । अन्य खेलाडीहरूलाई भने कोटा तथा वाइल्ड कार्डको आधारमा सहभागी गराइएको हो ।

नेपालले ओलम्पिकमा विभिन्न ६ खेलमा सात खेलाडीलाई सहभागी गराउँदैछ । नेपालका अन्य खेलाडीहरूमा जुडोमा मनिता श्रेष्ठ प्रधान, एथलेटिक्समा सन्तोष श्रेष्ठ, स्विमिङमा डुवाना लामा र एलेक्जान्डर शाह, ब्याडमिन्टनमा प्रिन्स दाहाल, सुटिङमा सुस्मिता नेपाल छन् । नेपाल पहिलोपटक ओलम्पिकमा ब्याडमिन्टनमा भाग लिन लागेको हो ।

नेपालले ओलम्पिकमा भाग लिएको यो १५औँ पटक हो ।



140 Views

Comments