नेपालको इतिहासमा पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी

११ श्रावण, २०८१,०८:२३

११ साउन,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौला निमित्त,कायममुकायम हुँदै मुख्यसचिव पदमा नियुक्त भएकी छन् । उनी नेपालको इतिहासमा पहिलो महिला मुख्यसचिव बन्दैँ महिला कर्मचारी उच्चपदस्थ पदमा पुग्ने भाग्यशाली महिलासमेत बनेकी छिन् । तर उनको कार्यकाल भने लामो हुने छैन् ।

तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टचारको मुद्दामा निलम्बनमा परेपछि गत असार ९ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले वरिष्ठ सचिव गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको थियो ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि असार ३१ गते बसेको मन्त्रीपरिषद बैठकले गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो ।

गड्तौला २०७७ कात्तिकमा सचिवमा बढुवा भएकी थिइन् । उनको कार्याकाल यही भदौ १५ गतेसम्म मात्र छ । भदौ १५ गते उनी ५८ वर्ष पुग्नि भएकीले गर्दा उमेर हदका कारण सोही दिनदेखि अवकासमा जाँदैछिन् । निजामति सेवा ऐन २०४९ मा मुख्यसचिवको कार्याकाल ३ र सचिवको कार्याकाल ५ वर्ष हुने उल्लेख छ ।

गड्तौला २०५२ साल पुसमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन् । उनले ‘ह्युमन राइट्स एण्ड जेण्डर’ र राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेकी छिन् ।

२०६३ सालमा उपसचिव, २०७० सालमा सहसचिव र २०७७ सालमा कार्तिकमा उनी सचिव भएकी थिइन् । उनले १७ वर्ष कानुन मन्त्रालयमा मात्र काम गरेकी थिइन् । तर पहिलो महिला कानुन सचिव भने बन्न पाइनन् ।

२०८० साउन ७ गते तत्कालिन कानुन सचिव धनराज ज्ञावालीको अवकाश भएपछि उनलाई कानुन सचिवको रूपमा पनि हेरिएको थियो । तर त्यसबेला प्रधानमन्त्री कार्यालयका उदयराज रावकोटालाई कानुन सचिवमा नियुक्त गरियो । उनले तत्कालिन प्रधानमन्त्री दाहाललाई भेटेरै यसमा असन्तुष्टि जनाएकी थिइन् । उनको जन्म २०२३ सालमा तेह्रथुमको म्याङ्लुङमा भएको थियो ।



263 Views

Comments