सौर्य एयरको विमान दुर्घटनामा पाइलटको उद्धार, १८ यात्रुको निधन

९ श्रावण, २०८१,१३:४२

९ साउन, काठमाडौँ । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ ।


पाइलट मनिषरत्न शाक्यको भने काठमाडौँको सिनामंगलुथित केएमसी अस्पतालमा उपचार भइरहेको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।


विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिनुभयो ।

उहाँले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताउनुभयो । प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ ।


सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ ।

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान आज बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको थियो ।

विमानमा आगलागी भएको र आगलागी नियन्त्रण गर्न तीनवटै सुरक्षाकर्मी निकाय परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिनुभयो । दुर्घटनाका बारेमा जानकारी लिन गृहमन्त्री रमेश लेखकसमेत विमानस्थल पुग्नुभएको थियो ।



263 Views

Comments