माओवादीले केन्द्र सरकारसँगै गुमायो सातै प्रदेश सरकार

८ श्रावण, २०८१,१५:०३

८ साउन,काठमाडौँ । केन्द्रमा कांग्रेस-एमालेसहित दुई तिहाई भन्दा बढीको समर्थनमा केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । त्यसको असरले गर्दा माओवादीले सातै प्रदेश सरकार गुमाएको छ ।

कोशीमा एमालेका मुख्यमन्त्री हिक्मत कार्कीकै सरकारले निरन्तरता पाउँने निश्चित छ । १०३ जना सभासद रहेको मधेश प्रदेशमा उपेन्द्र यादवको दल जनता समाजवादी नेपालका मुख्यमन्त्री सरोजकुमार यादवको पक्षमा ५० र विपक्षमा ५३ मत परेपछि सो सरकार ढल्यो र सिके राउतको जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री बनेका थिए । उक्त दलले ओलीसरकारलाई विश्वासको मत दिएसँगै सतिशकुमार सिंह नै मधेशमा मुख्यमन्त्रीमा निरन्तरता पाउँने भएका छन् । प्रतिपक्षमा रहेको कांग्रेसमेत सिंहको सरकारमा सहभागी भइसकेको छ ।

त्यस्तै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले मुख्यमन्त्रीबाट राजिनामा दिएपछि सो प्रदेशमा कांग्रेस-एमालेसहित समर्थनमा कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामाले ११० सदस्यीय प्रदेश सभामा ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बन्दैछन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले संविधानसम्मत नभएको भन्दै बदर गरेपछि हाल सो प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । मुख्यमन्त्री पाण्डेले केन्द्रमा सरकार परिवर्तन भए पनि आफूलाई अप्ठ्यारो परेको बेलामा सहयोग गर्ने दललाई सरकारबाट नहटाउँने बताएका छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशमा माओवादी पार्टीका मुख्यमन्त्री जोखबहादुर महराले पनि एमालेले समर्थन फिर्ता लिएसँगै राजिनामा दिएका छन् । सो प्रदेशमा एमाले पार्टी संसदीय दलका उपनेता चेतनारायण आचार्यले ८७ सदस्यीय प्रदेश सभामा ५६ सांसदको समर्थनमा मुख्यमन्त्री बन्दैछन् ।

कर्णाली प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रतिपक्षमा पुगेको छ । सोमबार माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीले पदबाट राजीनामा दिएसँगै प्रदेश सरकार स्थापनापछि पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षमा रहेको हो । सङ्घीय सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच सत्ता सहकार्य भएपछि कर्णालीमा माओवादी सरकारबाट बाहिरिएको हो ।

सो प्रदेशमा सरकारमा सहभागी हुने विषयमा आजैदेखि एमालेसँग छलफल सुरु हुने कांग्रेसका प्रदेशसभा सदस्य बेदराज सिंहले जानकारी दिनुभयो । उनले केन्द्रको निर्देशन कुरेको जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माधवकुमार नेपालको पार्टी नेकपा एकिकृत समाजवादी पार्टीका नेता दीर्घबहादुर सोडारी हाल अल्पमतमा छन् । उनको ठाउँमा पनि कांग्रेस-एमाले- नागरिक उन्मुक्ति पार्टी भित्रबाट मुख्यमन्त्री बन्ने निश्चित देखिन्छ ।



171 Views

Comments