युरो २०२४ : स्पेन चौथोपटक बन्यो युरो च्याम्पियन

३१ असार, २०८१,०९:०५

३१ असार,काठमाडौँ । स्पेनले इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै आइतबार चौथोपटक युरो च्याम्पियन भएको छ । बर्लिनमा भएको युरो २०२४ को फाइनल खेलमा स्पेनका लागि ओयरजाबलले ८६औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।

पूरा प्रतियोगितामा अपराजित रहेको स्पेनले सबै खेल जितेर उपाधि चुमेको हो । खेलको ४७औँ मिनेटमा स्पेनले निको विलियम्सको गोलले अग्रता लिएका थिए । उनका लागि लामिन यमलले पास उपलब्ध गराएका थिए ।

सब्ष्टिच्युट कोल पाल्मरले इंग्ल्याण्डका लागि ७३औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । युरो फाइनलमा इंग्ल्याण्डको यो लगातार दोस्रो हार हो । युरो २०२० मा पनि इंग्ल्याण्ड फाइनलमा इटालीसँग पराजित भएको थियो । इंग्ल्याण्डले सन् १९६६ मा विश्वकप उपाधि जितेयता कुनै पनि ठूलो उपाधि जित्न सकेको छैन् ।

स्पेनले भने उपाधि जितेसँगै विश्व फुटबलमा आफ्नो प्रभुत्वलाई फेरि कायम राख्न सफल भएको छ । स्पेनले यसअघि सन् १९६४, २००८ र २०१२ मा युरो कपको उपाधि जितेको थियो ।


152 Views

Comments