‘सीमा सुरक्षा पहिलो प्राथमिकता’

३१ असार, २०८१,०८:२१

३१ असार, वीरगञ्ज (पर्सा) । पर्साको प्रमुख जिल्ला अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखले नेपाल भारत सीमास्तम्भका बारेमा स्थलगत अवलोकन एवं जानकारी लिनुभएको छ । जिल्लामा एक सय सात किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ । सो अवसरमा प्रजिअ दिनेशसागर भुसालले सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न पर्साका सुरक्षा निकायलाई निर्देशन दिनुभएको थियो । उहाँले जगरनाथपुर गाउँपालिका–२ स्थित नेपाल–भारतको इनर्वा सीमानाकाको स्थलगत अवलोकन गर्दै सीमावासीका समस्या र गुनासालाई सम्बोधन गर्ने गरी अघि बढ्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको हो ।

उहाँले सीमा क्षेत्रका स्थानीयवासीसँग पनि छलफल गरेर स्थानीयवासीले उठाउँदै आइरहेको विषयलाई सम्बोधन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “अवैध कारोबार नियन्त्रणमा सम्झौता नगर्न निर्देश गर्छु”, उहाँले भन्नुभयो, “सीमावासीसँग निरन्तर छलफल र गुनासो सुन्ने व्यवस्था गरी सुमधुर सम्बन्ध कायम राख्न पनि अनुरोध गर्दछु ।” टोलीले ठोरी गाउँपालिकास्थित सीमास्तम्भको बारेमा पनि अवलोकन गरेको थियो । सो अवसरमा जगरनाथपुर गाउँपालिका–२ का वडाध्यक्ष नेपालीप्रसाद कुशवाहाले केही ठाउँमा सीमाको विवाद कायम रहेकाले दुवै पक्षबीच छलफल गरेर विवाद टुङ्ग्याउनु आग्रह गर्नुभयो । “हाम्रो तहबाट सुरक्षाकर्मीको लागि आवश्यक पर्ने सबै खालको सहजीकरण गर्न तयार रहेका छौँ”, उहाँले भन्नुभयो, “ सुरक्षाकर्मीले पनि सीमा सुरक्षामा विशेष जोड दिन जरुरी रहेको छ ।” जगरनाथपुर–२ का स्थानीय जामिर मियाँले नेपाली सुरक्षाकर्मी र स्थानीयबीच सुमधुर सम्बन्ध कायम गर्नुपर्ने बताउनुभयो ।



139 Views

Comments