नयाँ सरकार गठनको प्रक्रिया सुरु,राष्ट्रपति कानुनी परामर्शमा

२८ असार, २०८१,१८:५०

प्रधानमन्त्री दाहालले पाएनन् विश्वासको मत- उपस्थित संख्या :२५८, पक्षमा : ६३, विपक्षमा : १९४  तटस्थ : १

२८ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि अब नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । दाहालले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त नगरेको पत्र संसदबाट राष्ट्रपति कार्यालय पुगेसँगै अब सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान हुनेछ । त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्शका लागि कानुनविदहरूलाई शीतल निवास बोलाएका छन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम रकार गठनका लागि आह्वान गर्ने नयाँ गठबन्धन कांग्रेस-एमालेका नेताहरूले बताउँदै आएका छन् ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । प्रधानमन्त्री दाहालद्वारा नेपालको संविधान २०७२ को धारा १०० को उपधारा (२) बमोजिम प्रस्तुत प्रस्तावमाथि बैठकमा भएको मतदानको परिणाम घोषणा गर्दै सभामुख देवराज घिमिरेले सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमतले सो प्रस्ताव अस्वीकृत भएको जानकारी गराउनुभएको थियव ।

मतदानमा कुल २ सय ५८ सदस्यले भाग लिएकामा प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसदको गरी जम्मा ६३ मत परेको थियो भने विपक्षमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनता समाजवादी पार्टीलगायत दलका गरी १ सय ९४ मत खसेको थियो ।

मतदानमा १ सदस्य तटस्थ रहनुभएको थियो । यसअघि एमालेसहितका दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहाल संसद्को आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही असार ३० गते आइतबार दिउँसो ३ बजे बस्नेछ ।



246 Views

Comments