२७ असार,काठमाडौँ । युरो कपको फाइनल पुगेका स्पेन र इंग्ल्याण्ड उपाधि हात पारेर इतिहास बनाउने दाउमा छन् । युरो कपको इतिहासमा ६ खेल जित्ने पहिलो टिम बनेको स्पेन चौथोपटक च्याम्पेनसिप बन्ने दाउमा छ भने युरो कपमा लगातार दोस्रो फाइनलमा पुगे पनि ब्रिटिश टिम इंग्ल्याण्ड उपाधिविहिन छ ।
यसअघि सन् २०२० को युरो कप फाइनलमा इंग्ल्याण्ड इटलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । अघिल्लो संस्करणको हारको बदला लिँदै इंग्ल्याण्ड युरो कपको उपाधि हात पार्न चाहान्छ ।
ग्रुप ‘सी’बाट फाइनलसम्म आइपुगेको इंग्ल्याण्डले समूह चरणको खेलमा एक जित र दुई ड्र खेलेको थियो । क्वाटरफाइनलमा स्विजरल्याण्डसँग निर्धारित समयमा १-१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा इंग्ल्याण्डले स्विजरल्याण्डलाई ५-३ ले हराएको थियो । सेमीफाइनलमा ओली वाट्किन्सले इन्ज्युरी समयमा गरेको उत्कृष्ट गोलमा इंग्ल्याण्डले युरो-२०२४ मा बुधबार नेदरल्याण्डलाई २-१ ले हराएर फाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै ग्रुप ‘बी’बाट फाइनलसम्म आइपुगेको स्पेन अपराजित छ । युरो खेलमा सन् २०१२ पछि फाइनलमा पुगेर स्पेन चौथो पटक उपाधि जित्ने दाउमा छ । स्पेनले यसअघि सन् १९६४ मा पहिलो पटक युरो कप जितेको थियो भने सन् २००८ र सन् २०१२ मा लगातार युरो उपाधि जितेको थियो ।
क्वाटरफाइनलमा स्पेनले जर्मनीलाई २-१ ले हराएको थियो । सेमीफाइनलमा स्पेनको जितमा १६ वर्षीय लेमन यामलको गोल महत्वपूर्ण रह्यो । उनी कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाउँदै चर्चामा छन् । स्पेनले युरो-२०२४ मा बुधबार फ्रान्सलाई २-१ ले हराएर फाइनलमा प्रवेश गरेको हो ।
फाइनल खेल यी दुई देशबीच जुलाई १५ आइतबार हुनेछ ।
Comments