संविधान संशोधन गर्न
संविधान संशोधन गर्न संघीय संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) मा दुई तिहाइ चाहिन्छ । यसका लागि कांग्रेस र एमालेमात्रै सहमत भएर पुग्दैन । अन्य दलहरूको पनि साथ चाहिन्छ ।
राष्ट्रिय सभामा
५९ सदस्यीय राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसहित १७,कांग्रेस १६, एमालेका १०, नेकपा (एस) का ८, जसपा नेपालका ३, लोकतान्त्रिक समाजवादी पार्टीका र राष्ट्रिय जनमोर्चाका एक-एक जना सांसद छन् भने राष्ट्रपतिबाट मनोनित ३ जना सांसद छन् । मनोनित ३ जना सांसदहरू क्रमश: वामदेव गौतम, डा.अन्जजान शाक्य (एमालेको कोटाबाट) र नारायण प्रसाद दाहाल (माओवादीको कोटाबाट) रहेका छन् ।
राष्ट्रिय सभामा दुई तिहाई बहुमतका लागि मनोनित ३ जना सांसद र अन्य दलको ३ जना सांसद चाहिन्छ ।
प्रतिनिधि सभा
प्रतिनिधि सभा कांग्रेस र एमालेमात्रै भए पनि आरामदायी बहुमत पुग्छ । बहुमतका लागि १३८ जना सांसदको साथ चाहिन्छ ।
प्रतिनिधि सभा कांग्रेसका ८८, एमालेका ७८, नेकपा (माओवादी केन्द्र)का ३२, रास्वपाका २१, राप्रपाका १४, नेकपा (एस) का १०, जनता समाजवादीका ७, जनता समाजवादी नेपालका ५, जनमतका ६, नाउपाका ४, लोसपाका ४, राष्ट्रिय जनमोर्चा, नेमकिपा र आजपाका एक-एक सांसद तथा स्वतन्त्रका ३ जना सांसद रहेका छन् । तीन जना स्वतन्त्रका सांसदहरूमा क्रमश:डा अमलेश कुमार सिंह (सर्लाही-४), किरण कुमार साह (रौतहट-२ एमाले प्रवेश) र योगेन्द्र मण्डल (मोरङ-५) रहेका छन् ।
कांग्रेस र एमाले गरी १६६ जना सांसद हुन्छन् । संविधान संशोधन गर्नका लागि आवश्यक दुई तिहाइ १८४ जना सांसद चाहिन्छ । यसका लागि विभिन्न दलका १८ जना सांसदहरूको पनि साथ चाहिन्छ ।
संविधान संशोधन गर्नका लागि दुवै सदनमा दुई तिहाइ पुर्याएर मात्रै पुग्दैन । यसको आवश्यकता र औचित्य पुष्टि गर्न नयाँ सरकारलाई सकस पर्नेछ । संविधान संशोधनका पनि आफ्नै प्रक्रिया छन् ।
संविधानको धारा २७४ मा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहीत सार्वभौमिकता प्रतिकूल हुने गरी संविधान संशोधन गर्न सकिने छैन भन्ने उल्लेख छ ।
यसबाहेक सबै विषयमा राजनीतिक सहमतिका आधारमा दुवै सदनमा दुई तिहाइ पुर्याएर संविधान संशोधन गर्न सकिने व्यवस्था रहेको छ ।
Comments