१६ असार,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्रअघि भृकुटीमण्डपबाट र्याले निस्किएको थियो भने उक्त र्याली कमलादीस्थित प्रज्ञा भवनमा पुगेर सभामा परिणत भएको थियो ।
उद्घाटन र्यालीमा विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको सो कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल,सम्मानित नेता झलनाथ खनाललगायतका शीर्ष नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
आजदेखि पाँच दिनसम्म हुने महाधिवेशनले २ सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ ।
महाधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द, लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लालगायत नेताहरूको महाधिवेशनमा उपस्थिति रहेको छ ।
२०७८ भदौ २ गते एमालेबाट विद्रोह गरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन भएको हो । नेकपा (एस) ले पहिलो पटक महाधिवेशन गर्दैछ । नेकपा (एस) मा १ हजार ८७८ जना महाधिवेशन प्रतिनिधि छन् ।
Comments