१५ असार,काठमाडौँ । आज असार १५ मध्यबर्खा अनी दहीचिउरा खाने दिने दिन पनि हो । असार १५ मनाउन राष्ट्रपति, प्रधानमन्त्रीदेखि कलाकार, विद्यार्थी, खेलाडी, पत्रकार, विभिन्न पेसाकर्मीहरूले हातमा धानको हरियो बीउ बोकेर हिलोमा खुट्टा चोपलेर धान रोप्दै दहीचिउरा खाएर एक आपसमा खुशी साटासाट गर्ने चलन रहेको छ ।
अर्कोतर्फ आजकै दिन २१औँ राष्ट्रिय धान दिवसका अवसरमा देशभरी विभिन्न रोपाइँ कार्यक्रम आयोजना गरिएको छ ।
शीतल निवासमा धान रोपाइँ
एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आज आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी हुनुहुन्थ्यो । रोपाइँ शुभारम्भ गर्नुहुँर्दै राष्ट्रपति पौडेलले कृषि पेसा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताउनुभयो ।
“पहिला देशमा फलफूल तरकारीभन्दा धान बढी उत्पादन हुन्थ्यो । पहिला धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो । पछि जब करेसाबारी बढ्न थाल्यो, धान बाहिरबाट आयात गर्न थालिएको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “यसले पनि असन्तुलन भयो । त्यही भएर अब सन्तुलित खानपीनका लागि फेरि धानको उत्पादन, कृषि पेसा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको हुँ ।”
देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई धानमा मात्र होइन खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको छ । भरतपुर महानगरले आज चितवनमा आयोजना गरेको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा प्रधानमन्त्रीले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउनेगरी सरकारले कृषिदशक कार्यक्रम अघि बढाएको स्पष्ट पार्नुभयो । सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषिदशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सिँचाइ, बीउ एवं मल सहज रुपमा उपलब्ध गराउने र यान्त्रिकीकरण गरेर धानमा आत्मनिर्भर हुन सकिने बताउनुभयो ।
धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहका सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । कृषि क्षेत्रमा आधारित व्यापार–व्यवसायमा लाग्न र देशको आर्थिक क्षेत्रको प्रवर्दनमा जोड दिँदै प्रधानमन्त्री दाहालले कृषिकर्मका माध्यमबाट देश समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले दुग्ध किसानलाई अनुदान उपलब्ध गराउने, कृषि प्रवर्दन गर्ने र रोजगारी सिर्जनाका कार्यक्रम अघि बढाएको बताउनुभयो ।
भरतपुर महानगरका प्रमुख रेणु दाहालले चितवनका सबै कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ उपलब्ध गराउने व्यवस्था मिलाइने बताउनुभयो । कृषकमैत्री कार्यक्रम कार्यान्वयन गरी उत्पादकत्व बढाउने उल्लेख गर्दै उहाँले खाद्यान्नमा चितवनलाई आत्मनिर्भर बनाउन आफू क्रियाशील रहेको बताउनुभयो ।
Comments