नगरसभाको बैठक स्थगित भएपछि कांग्रेस र एमालेका वडा अध्यक्षप्रति मेयर बालेन आक्रोशित

Bhugolpark

२ असार, २०८१,१२:३६

२ असार,काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले नगरसभाको बैठक स्थगित भएपछि आक्रोश पोखेका छन् । आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभाको बैठकमा कांग्रेस र एमालेका वडा अध्यक्षहरूले बहिस्कार गरेका हुन् ।

मेयर शाहले वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहाने सदस्यहरूलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए । तर कांग्रेस र एमालेका वडा अध्यक्षहरूले बैठक बहिस्कार गरेपछि काठमाडौँ महानगरको नगर अधिवेशन असार १० गतेसम्मका लागि स्थगित भएको छ ।

यसैबीच नगरसभाको बैठक स्थगित भएपछि मेयर शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले अबको बैठकमा कांग्रेस र एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका छन् ।

उनले ‘३ जना नेताले गर्दा,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो ।

काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।

नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।

काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।भनी लेखेर पोष्ट गरेका थिए ।


383 Views

Comments