२४ जेठ,काठमाडौँ । दुर्गा प्रसाईँको मेडिकल कलेज बी एण्ड सीलाई सम्बन्धन दिन सर्वोच्च अदालतले गत सोमबार फैसला दिएको हो । उनले लामो समयदेखि झापामा स्थापित बी एण्ड सी मेडिकल कलेजमा चिकित्साशास्त्रमा अध्यापन गर्न विश्वविद्यालयको सम्बन्धन माग्दै आएका थिए ।
“दुर्गा प्रसाईँको निवेदनको मागबमोजिम रिट जारी हुने ठहर भएको छ,” अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतिले भूगोलपार्कका समाचारदातालाई बताए । फैसलाको पूर्णपाठ आउन भने बाँकी छ ।
दुर्गा प्रसाईँको मेडिकल कलेज बी एण्ड सीलाई सम्बन्धन दिन माग गरिएको मुद्दामा न्यायाधीशद्वय कुमार चुडाल र सारङ्गा सुवेदीको इजालसले उक्त आदेश दिएको हो ।
यसअघि उनको मापदण्ड पूरा नगरेका मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्दै डा गोविन्द केसीले आमरण अनशन गर्दै आएका थिए । तर प्रसाईँले आफूले सरकारी आशयपत्रबमोजिम काम गरेको भए पनि कलेज सञ्चालन गर्न नपाएको भन्दै चिकित्सा शिक्षा आयोग र काठमाडौँ विश्वविद्यालयसहित विभिन्न निकायलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गरेका थिए ।
उक्त मेडिकल कलेजलाई सम्बन्धन प्राप्त गर्नको लागि सुरुमा प्रधानमन्त्री पुष्पकमल दालाल र पछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास पात्र भएका थिए । तर पनि दुबैले मेडिकल कलेजलाई सम्बन्धन प्राप्त गर्न सहयोगी भूमिका ननिभाएको भन्दै पछिल्लो समय “राष्ट्र, राष्ट्रियता जोगाउन नागरिक बचाऊ” भन्दै देश दौडाहामा निस्किएका थिए । उनी देश जोगाउन राजसंस्था विउँतिनुपर्ने भाषणसमेत दिने गर्थे ।
Comments