२० जैठ, काठमाडौँ । ग्रेटर नेपाल राष्ट्रवादीले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा ग्रेटर नेपालको नयाँ नक्सा जारी गरेको घोषणा प्रेस विज्ञप्तिमार्फत गरेको छ । उनीहरूले हाम्रा वीर पुर्खाले हामीलाई गौरवशाली इतिहास छोडेर गएका थिए भन्दै त्यो गौरव खास गरी हाम्रा पुर्खाको वीरतासँग जोडिएको छ, तिनले देशको माटोको सुरक्षा र प्रतिरक्षामा बगाएको पवित्र रगतसँग जोडिएको बताए । त्यही गौरवको गाथालाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विगत डेढ दशकदेखि ग्रेटर नेपालको नक्सामार्फत् जीवन्त राख्ने प्रयास गर्दै आइरहेको जानकारी दिए । माटोको मुद्दा सय, दुई सय वर्षमा सकिँदैन, हजार वर्ष पछिसम्म पनि जमिनमाथिको स्वामित्वको प्रश्न उठाउन सकिने स्मरण गराएका थिए ।
नेपालसँग सुगौली सन्धि गर्ने संयुक्त अधिराज्य ग्रेट ब्रिटेन उक्त सन्धि भएको १२९ वर्षपछि Indian Subcontinent छाडेर गएको पनि अहिले ७५ वर्ष पुगिसकेको छ । ब्रिटेनले उपनिवेशमा राखेको नेपालको भूमिमा इन्डियाले पुनः उपनिवेश कायम गरेको पनि त्यति नै वर्ष पुगेको छ, तर नेपाल र इन्डियाबीच १९५० जुलाई ३१ मा भएको नेपाल - इन्डिया शान्ति तथा मैत्री सन्धिको धारा ८ अनुसार सुगौली सन्धि रद्द भई नेपालको सिमाना सुगौली सन्धिपूर्वकै अवस्थामा पुगिसकेको तथ्य दिनको घामजत्तिकै छर्लङ्ग भएको अभियन्ताहरूले बताए । उनीहरूले यसैका आधारमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आज २०२४ जुन ०२ तारिखका दिन ग्रेटर नेपालको नक्साको पाँचौं संस्करण सार्वजनिक गरेका हुन । ग्रेटर नेपालको नक्साको यो पाँचौं संस्करण ऐतिहासिक तथ्य र अभिलेखमा आधारित रहेर तयार पारिएको बताए ।
समुद्र गुप्तको अलाहबाद प्रशस्तिमा नेपालको पूर्वी सिमाना असमको कामरूपसम्म भएको उल्लेख इन्डियाली इतिहासविद्हरूले गरेका छन् भने ग्रेटर नेपालको पश्चिमतर्फको सिमाना रावी नदी हो भन्ने कुरा डेभिड अक्टरलोनी र बडा काजी अमरसिंह थापाबीच १८१५ मे १५ मा भएको एक सम्झौतामा उल्लेख भएको पाइन्छ । दक्षिणतर्फको सिमाना निक्र्यौल गर्न अझै खोज अनुसन्धान गर्नुपर्ने देखिन्छ । जुन २, २०२४ मा ३३४२५० वर्ग किलोमिटर क्षेत्रफल भएको ग्रेटर नेपालको नक्साको पाँचौँ संस्करण सार्वजनिक गरिएको छ । पछि प्राप्त हुने तथ्य र अभिलेखका यसका नयाँ संस्करणहरू प्रकाशित हुँदै जाने बताए । इन्डियाको सरकारले नेपालको भूमि समावेश गरी काल्पनिक, मनगढन्ते र अतिरञ्जित 'अखण्ड भारत' को नक्सा विश्वव्यापी गरेका सन्दर्भमा तथ्यमा आधारित ग्रेटर नेपालको नक्सा सार्वजनिक गर्नु इन्डियाविरुद्ध पौठाजोरी वा चुनौती होइन, यो केवल नेपाल पक्षधरता हो भनी ग्रेटर नेपाल राष्ट्रवादीका अध्यक्ष फर्णीन्द्र नेपालले बताए ।
Comments