बजेटका हाइलाइट २३ बुँदामा

१६ जेष्ठ, २०८१,१३:२०

१६ जेठ, काठमाडौँ । सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका छन् । उनले प्रस्तुत गरेका बजेटका हाइलाइट मुख्यतया २३ बुँदामा समेटने खोजेका छौँ ।

१. आर्थिक वृद्धि ६ प्रतिशत, मूल्य वृद्धि ५.५ प्रतिशत प्रक्षेपण

सरकारले आगामी वर्ष ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । चालु आर्थिक वर्ष ७ प्रतिशत प्रक्षेपण गरिएकोमा केन्द्रीय तथ्यांक कार्यालयको पछिल्लो संशोधित प्रक्षेपणको आधारमा ३.८७ प्रतिशतले वृद्धि हुने जनाएको छ ।

त्यस्तै सरकारले ५.५ प्रतिशतमा मूल्य वृद्धि सीमित पार्ने घोषणा गरेको छ । साउनदेखि चैतसम्मको औसत मूल्य वृद्धि ५.५ प्रतिशत छ ।

२. सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब बजेट

अहिले वृद्ध भत्ताको रुपमा ६८ वर्ष नाघेका नागरिकलाई ४ हजार रूपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । त्यस्तै कर्णाली र दलित परिवारका हकमा ६० वर्ष नाघेका नागरिकलाई यस्तो भत्ता दिइएको छ ।

३. आलु, प्याज र स्याउमा लागेको अभिवृद्धि कर खारेज

सरकारले आलु, प्याज र स्याउ लगायत तरकारी एवं फलफूलमा लागेको अभिवृद्धि कर खारेज गरेको छ । यसबाट स्वदेशी उत्पादनमा टेवा पुग्ने सरकारको विश्वास छ ।

४. मदिरा र सुर्तीजन्य पदार्थमा करवृद्धि

सरकारले मदिरा र सुर्तीजन्य पदार्थमा करवृद्धि गरेको छ । बियरमा हाल १ लिटर बराबर २३५ रूपैयाँ अन्त:शुल्क लाग्दै आएकोमा ४६० रूपैयाँ पुर्याएको छ । त्यस्तै चुरोटको अन्त:शुल्क ४ प्रतिशतले बढाइएको छ ।

५. औषधि प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन थालिने

सरकारले औषधि प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन खुला गर्ने भएको छ । यसका लागि आवश्यक कानुन निर्माण गर्ने सरकारले जनाएको छ ।

६. कृषि बीमाका लागि १ अर्ब ६५ करोड अनुदान,गाई, भैसीको नस्ल सुधारका लागि ३८ करोड

साना किसानको बाली तथा पशुपंक्षी बीमाका लागि सरकारले प्रिमियम रकममा अनुदान प्रदान गर्न १ अर्ब ६५ करोड रूपैयाँ बजेट छुट्याएको छ । सरकारले प्रिमियम रकममा ७० प्रतिशतसम्म कृषि बीमा दिदै आएको छ । त्यस्तै सरकारले गाई, भैसीको नस्ल सुधारका लागि ३८ करोड रूपैयाँ बजेट छुट्याएको छ ।

७. निजगढदेखि ढल्केबरसम्मको क्षेत्र नेपाली गलैंचा करिडोरका रूपमा विकास गरिने

सरकारले निजगढदेखि ढल्केबरसम्मको क्षेत्र नेपाली गलैंचा करिडोरका रूपमा विकास गरिने जनाएको छ । सार्वजनिक निकायले नेपालमा बनेको गलैंचा खरिद गर्नुपर्ने व्यवस्थासमेत गरेको छ ।

८. सेनाको बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई साढे १ अर्ब बजेट

सरकारले नेपाली सेनाको बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई साढे १ अर्ब बजेट विनियोजन गरेको छ । नेपाली सेनालाई प्रविधियुक्त दक्ष एवं व्यवसायिक बनाइने बताएको छ ।

९. बुढीगण्डकी,दूधकोशी लगायत जलाशययुक्त आयोजना निर्माणका लागि ५० अर्ब ७४ करोड

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा ऊर्जा क्षेत्र विकासका लागि लागि ५० अर्ब ७४ करोड रूपैयाँ बजेट छुट्याएको छ ।

१०. सुरूङमार्ग, इन्टरसेक्सन र फ्लाइओभर निर्माणका लागि ५ अर्ब ६३ करोड

सरकारले निर्माणाधिन सुरूङमार्ग, इन्टरसेक्सन र फ्लाइओभर निर्माणका लागि ५ अर्ब ६३ करोड रूपैयाँ बजेट छुट्याएको छ ।

११. नारायणी र तिनाउ नदीमा सिग्नेचर ब्रिज बनाउन २ अर्ब ४६ करोड बजेट

सरकारले नारायणी र तिनाउ नदीमा सिग्नेचर ब्रिज बनाउन २ अर्ब ४६ करोड बजेट छुट्याएको छ ।

१२. निश्चितभन्दा बढी पूँजी भएका कम्पनीलाई अनिवार्य सेयर जारी गर्न लगाइने

अर्थमन्त्री पुनले नेप्से र सिडिएस एन्ड क्लियरिङको संरचनागत सुधार गरिने,वस्तु बजार सञ्चालनको व्यवस्था गरिने बताएका छन् । यसको लागि सरकारले नेपाल राष्ट्र बैंक ऐन र विदेशी विनीमय नियमित गर्ने ऐन संशोधन गर्ने भएको छ ।

१३. सार्वजनिक निजी साजेदारीमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाइने

सरकारले सार्वजनिक निजी साजेदारीमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाइने घोषणा गरेको छ ।

१४. मध्यै पहाडि पुष्पलाल लोकमार्गका लागि ३ अर्ब ६८ करोड

सरकारले मध्यै पहाडि पुष्पलाल लोकमार्गका लागि ३ अर्ब ६८ करोड बजेट छुट्याएको छ ।

१५. आगामी वर्ष थप ९ सय मेगावाट बिजुली उत्पादन गरिने

सरकारले आगामी वर्ष थप ९ सय मेगावाट बिजुली थप उत्पादन गरिने जनाएको छ । राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पुर्याइने भएको छ । प्रतिव्यक्ति विद्युत खपथ ४ सय ५० युनिट पुर्याइने जनाएको छ । आगामी आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत निर्यात गर्ने सरकारले जनाएको छ ।

१६. काठमाडौँ तराई मधेश द्रुत मार्गका लागि २२ अर्ब ५४ करोड,पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड

सरकारले काठमाडौँ तराई मधेश द्रुत मार्गका लागि २२ अर्ब ५४ करोड र पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड बजेट छुट्याएको छ ।

१७. मूलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजा कोइराला रंगशाला अब राष्ट्रिय गौरवका आयोजना

मूलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजा कोइराला रंगशाला अब राष्ट्रिय गौरवका आयोजनाका रूपमा सरकारले अगाडि बढाउँने भएको छ । हाल २१ वटा आयोजना राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका छन् ।

१८. प्रत्येक प्रदेशमा १ हजार सुवालाई सीपमूलक तालिम दिन ४३ करोड

सरकारले प्रत्येक प्रदेशमा १ हजार सुवालाई सीपमूलक तालिम दिन ४३ करोड विनियोजन गरेको छ ।

१९. वैदेशिक रोजगारीमा जानु अगाडि दिइने अभिमुखीकरण तालिम नि:शुल्क बनाइने

सरकारले वैदेशिक रोजगारीमा जानु अगाडि दिइने अभिमुखीकरण तालिम नि:शुल्क बनाइने जनाएको छ ।

२०. प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई ६ अर्ब,२ लाखलाई १०० दिनको रोजगारी 

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ६ अर्ब बजेट छुट्याइएको छ । दुई लाख युवालाई न्यूनतम १०० दिनको रोजगारी दिइने जनाएको छ ।

२१. दिवा खाजाका लागि सातै प्रदेशमा ‘मेगा किचेन’ स्थापना गरिने

सरकारले सात प्रदेशका एक-एक स्थानीय निकायमा एकीकृत भान्साको अवधारणा अनुसार ‘मेगा किचेन’ स्थापना गरिने बताएको छ ।

कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, डोल्पा लगायतका जिल्लामा दिँइदै आएको दिवा खाजाको लागि बजैट वृद्धि गरेको छ । आगामी वर्ष प्रार्म्भिक वाल शिक्षादेखि कक्षा ५ सम्मको दिवा खाजाका लागि ८ अर्ब ३९ करोड विनियोजन सरकारले गरेको छ ।

२२. चिया, कफी, अलैंची र हिमालयन वाटर ब्रान्डिङ गरिने

सरकारले चिया, कफी, अलैंची र हिमालयन वाटर ब्रान्डिङ गरिने बताएको छ ।

२३. नेपाललाई विवाह गन्तव्य बनाइने,जनकपुर “वेडिङ हब”

नेपाललाई पर्यटकीय विवाह गन्तव्य बनाइने भएको छ । नेपालमा वैवाहिक समारोह आयोजनाका लागि आउने पर्यटकलाई सांस्कृतिक र पर्यटकीय विवाह गन्तव्यलाई विवाह गन्तव्यको रुपमा घोषणा गरिने भएको छ । जनकपुर “वेडिङ हब” र लुम्बिनीलाई बर्थिङ हब बनाउँने सरकारको तयारी रहेको अर्थमन्त्री पुनले बताएका छन् ।



261 Views

Comments