झापामा आठ सय ८५ इजाजत प्राप्त हतियार

६ जेष्ठ, २०८१,१४:४८

२६ वैशाख, झापा । मुलुकमा पछिल्लो समय कुनै हिंसात्मक द्वन्द्वको अवस्था छैन । व्यक्तिगत असुरक्षा निम्तिने कुनै त्रासदी नहुँदा पनि झापाली सर्वसाधारणले ठूलो सङ्ख्यामा निजी बन्दुक राखेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले झापामा सर्वसाधारणले आठ सय ८५ वटा निजी हतियार (बन्दुक) राख्न इजाजत लिएको बताउनुभयो । उहाँका अनुसार भरुवा बन्दुकदेखि अर्धस्वचालित हतियार नागरिकसँग रहेको पाइएको छ । “सुरक्षा चुनौती विश्लेषण गरेर मात्र जिल्ला प्रशासन कार्यालयले व्यक्तिलाई हातहतियार राख्न इजाजत दिने गर्दछ । खरखजना ऐन, २०१९ र नियमावली २०२८ ले सर्वसाधारणले इजाजत लिएर व्यक्तिगत सुरक्षाका लागि हतियार राख्न पाउने व्यवस्था गरेको छ”, प्रजिअ बाँस्तोलाले भन्नुभयो ।

यसरी राखिएका हतियार जथाभावी चलाउन र सार्वजनिक रुपमा प्रदर्शन गर्न नपाइने उहाँको भनाइ छ । पाँच वर्षसम्म नवीकरण नभएका हतियारको इजाजतपत्र रद्द गरी जफत गर्न सकिने कानुनी व्यवस्था रहेको प्रजिअ बाँस्तोलाले जानकारी दिनुभयो । झापामा इजाजत लिएर हतियार राख्ने सर्वसाधारणले नियमित रुपमा कानुनबमोजिम नवीकरण गरेका नगरेका भन्दै चालु आवमा एक सय ३० जनाले मात्र इजाजतपत्र नवीकरण गरेका उहाँले जानकारी दिनुभयो । मेडिकल व्यवसायी दुर्गा प्रसार्इंका निजी सुरक्षाकर्मीले बोकेको अर्धस्वचालित हतियार सर्वोच्च अदालत परिसरभित्र बरामद भएपछि निजी हतियारको इजाजतसम्बन्धी जनचासो बढेको छ ।

उक्त घटनापछि प्रसाईंले हतियार राख्न लिएको इजाजतपत्रको छानबिन भएको छभने देशैभरिका प्रशासन कार्यालयले हतियारको इजाजतलाई व्यवस्थित बनाएका छन् । साथै त्यस्ता हतियारको अभिलेख राख्ने र इजाजतको पुनरावलोकन गर्ने कार्य भइरहेको जनाइएको छ । झापास्थित प्रशासन कार्यालयले सूचना जारी गर्दै इजाजत लिएर हतियार राखेका व्यक्तिलाई इजाजत नवीकरणका लागि हतियारसहित प्रशासन कार्यालय आउन अनुरोध गरेको छ । कतिपयले जिल्लाबाहिर इजाजत नवीकरण गरेको भए सोको जानकारी गराउन समेत प्रशासनले आग्रह गरेको छ । कुनै हतियार सुरक्षा निकायमा बुझाइएको भए त्यसको निस्सा प्रशासन कार्यालयमा पेस गर्न सूचनामार्फत अनुरोध गरिएको छ । इजाजत लिएका सङ्ख्याका आधारमा नवीकरण नभएपछि प्रशासनले धेरैजसो हतियारको नवीकरण जिल्लाबाहिर भएको हुनसक्ने आशङ्का गरेको प्रजिअ बाँस्तोलाले बताउनुभयो ।

तीन दशकअघिसम्म झापाका देहाती गाउँमा डकैती र लुटपाटका घटना बारम्बार हुने गर्दथे । भैपरीआउने असुरक्षाका कारण पहुँचवालाले प्रशासनबाट इजाजत लिएर निजी हतियार साथमा राख्ने गर्दथे । पञ्चायतकालदेखि नै यहाँ निजी सुरक्षा र प्रतिष्ठाका लागि हतियार राख्ने गरेको पाइएको उहाँको भनाइ छ । दशवर्षे सशस्त्र द्वन्द्वकालमा प्रशासनले सर्वसाधारणसँग रहेका सबै हतियार बुझाउन निर्देशन दिएको थियो । जिल्लामा निजी हतियारको दुरुपयोग भएको कुनै घटना दर्ता नभएको प्रशासन कार्यालयले जनाएको छ । इजाजत नलिईकन कतिपय नागरिकले साना हतियार राखेको हुनसक्ने अनुमान छ । जङ्गल छेउछाउ बसोबास गर्ने कतिपय व्यक्तिले वन्यजन्तु सिकार गर्नका लागि इजाजत नलिइएको हतियार प्रयोग गर्ने गरेका हुनसक्ने बताइएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा बाह्रदशी गाउँपालिका–२ मा एउटा भरुवा बन्दुक प्रहरीले बरामद गरेको थियो । हतियार खरखजना मुद्दामा एकजनालाई मात्र अभियोग लागेको थियो । “वन्यजन्तु सिकारमा बन्दुकको प्रयोग भएका घटना भने छन्”, वन्यजन्तु तथा चरा संरक्षण समाज मेचीनगरका अध्यक्ष देवेन्द्र खरेलले भन्नुभयो । गत वैशाख ४ गते मेचीनगर–१२ स्थित कालिका सामुदायिक वनभित्र एउटा भाले हात्ती गोली हानेर मारिएको अवस्थामा फेला परेको थियो । दुवै दाह्रा फेदैबाट काटेर लगिएको अवस्थामा भेटिएको हात्तीको निधार र कान छेउमा गोली लागेको पाइएको उहाँले जानकारी दिनुभयो । “हात्तीको निधारमा सिधा गोली हानिएको छ, चोरी–सिकारीले नै यो घटना गराएको हो ।

वन्यजन्तु मार्ने दोषी पक्राउ गरेर कानुनी कारबाही हुनुपर्ने माग गर्दै आएका छौँ”, खरेलले भन्नुभयो, “पहिले हरिण र बँदेलको सिकार गर्नेहरुले हतियारको प्रयोग गर्थे । हात्तीको दाह्रा तस्करी गर्ने गिरोह अब झापामा सक्रिय भएको पुष्टि भएको छ ।” हात्तीलाई गोली हानेर मार्ने गिरोह अहिलेसम्म पक्राउ नपरेको उहाँको भनाइ छ ।



64 Views

Comments