ल​लित​पुर​को जावलाखेलमा रहेको सदर चिडियाखाना

Bhugolpark

७ बैशाख, २०८१,०९:२३

ल​लित​पुर​को जावलाखेलमा रहेको सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो समय कोरोना सङ्क्रमणको त्रास पनि हट्दै गएकाले चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताको सङ्ख्या बढ्दै गएको चिडियाखाना प्रशासनले जनाएको छ ।

हिजोआज दैनिक कम्तीमा पनि १ हजार ५ सयसम्म सदर चिडियाखाना अवलोकन गर्न आउने गरेको सदर चिडियाखाना प्रमुख रचना शाहले बताइन् । उनले भनिन्, ‘कोरोना सङ्क्रमण दर घट्दै गएकाले अहिले चिडियाखाना अवलोकन गर्नेको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ, सबैभन्दा बढी युवा र विद्यार्थी आउने गरेका छन् ।’  

अवलोकनकर्ता बढेसँगै चिडियाखाना प्रशासनले अवलोकनकर्तालाई अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालना गराउने गरेको छ । अवलोकनकर्ताले अब मास्क अनिवार्य, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खुवाउन छुन नपाउने, स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्नेजस्ता मापदण्डको पालना गर्नुपर्ने नियम बनाएको बताइएको छ ।   

चिडियाखाना अवलोकन समय हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म राखिएको छ । हाल चिडियाखानामा १ सय १० प्रजातिका १ हजार ६८ जीव जनावर राखिएका प्रमुख शाहले बताइन् ।   उनका अनुसार चिडियाखानामा मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा (रातो हाब्रे) रहेका छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।  चिडियाखाना अवलोकनका गर्न विदेशीलाई रु एक हजार, सार्क राष्ट्रका पाहुनालाई ५ सय, नेपालीलाई २ सय, विद्यार्थीलाई १ सय ३५ र ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको चिडियाखाना प्रशासनले जनाएको छ । 

तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशमशेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रूपमा स्थापना गरेका थिए । २०११ सालबाट सर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको छ ।


91 Views

Comments