पूर्वप्रधानमन्त्री देउवाले मदन भण्डारीको हत्यारा पत्ता नलगाएको भन्दै'विद्या-ओली’लाई गर्नुभयो कटाक्ष

२१ बैशाख, २०८१,१४:१२

११ वैशाख,काठमाडौँ । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा नेकपास्थापना भएको ७५औँ स्थापना दिवस (हिरक महोत्सव) समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय जननेता मदन भण्डारीको रहस्यमय हत्या कसले गर्यो ?, किन हत्यारा पत्ता लगाउन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएनन् ?, मदन भण्डारीको हत्या गराएको आशंका गरिएको ड्राइभरको मृत्यु कसरी भयो ?, सो विषयमा अहिलेसम्म किन छानविन नगरेको ? आदित्यादि प्रश्न गर्दै खाली नेपाली कांग्रेसलाई मात्र गाली गर्ने भनेर मञ्चमा नै जङ्गिनुभएको थियो । उहाँले मन्तव्यका क्रममा संवाद, सहमति र सहकार्यबाट लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नुपर्नेसमेत बताउनुभएको थियो ।

उहाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुनिश्चित गर्न सबैको सहकार्य जरुरी भएकोमा जोड दिनुभयो । “नेकपा स्थापना भएको ७५ वर्ष पूरा भएको छ, त्यसमा म बधाई दिन चाहन्छु”, सभापति देउवाले भन्नुभयो, “नागरिकको मौलिक हक अधिकारको संरक्षण, देशमा दिगो शान्ति, सुशासनका लागि न्यूनतम सहमति र सहकार्य जरुरी छ ।” उहाँले सङ्घीय संसद्मा प्रतिपक्षले उठाएको विषयलाई गम्भीरतापूर्वक लिन समेत आग्रह गर्नुभयो ।

त्यस्तै आज हामीले पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ र समस्याग्रस्त नेपाली कम्युनिष्ट आन्दोलनबारेमा संक्षिप्तमा चर्चा परिचर्चासमेत गर्ने जमर्को गरेका छौँ ।

पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेको थियो । ७५औँ स्थापना दिवस (हिरक महोत्सव) समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान प्रदान गर्नुभएको हो । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले एमालेका पूर्वउपाध्यक्षसमेत रहनुभएको भण्डारीलाई सम्मान गर्ने प्रस्ताव पारित गरेको थियो । मुलुकको लोकतान्त्रिक तथा कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याउनु भएको, राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार पार्टीका पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरिएको हो ।

महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत प्रमुख दलका नेताहरूको उपस्थिति रहेको थियो ।

समस्याग्रस्त नेपाली कम्युनिष्ट आन्दोलन

पुष्पलाल श्रेष्ठको नेतृत्वमा सुरु भएको नेपाली कम्युनिष्ट आन्दोलनले ७५ वर्ष पुगेको छ । यसबीच  विचलित हुँदै, विखण्डित हुँदै, फाट्दै जुट्दै यसले अस्तित्व धानिरहेको छ । मानव समाजलाई अधिक मानवीय बनाउन, सामन्ती र पूँजीवादी शोषणबाट मुक्त गर्न, बढीभन्दा बढी स्वाधीन र स्वशासित बनाउन र धर्तीलाई मानव जातिको उत्कृष्ट वासस्थान बनाउने युगौंयुगदेखिका परिकल्पनाहरूलाई कार्ल माक्र्स र एगेल्सले निस्कर्षमा ल्याए र त्यसो गर्नु सम्भव छ भनी देखाए । यसले स्वतन्त्रताका अवधारणा र आकांक्षाहरूलाई नयाँ आयाम दियो । श्रमजीवी जनतालाई संगठित गरेर शोषणको जंजीरबाट उम्कने प्रयत्नहरूलाई यसले तीक्ष्णता दियो । यसले नै मुक्तियुद्धहरूको पक्षपोषण गर्दै साम्राज्यवाद र उपनिवेशवादको अन्त्य गर्यो  । पहिले नेपाली कांग्रेसमै रहेका पुष्पलाल आदिले प्रजापरिषद् र कांग्रेसजस्ता क्रान्तिमा ऐतिहासिक योगदान गरिआएका पार्टीहरूबाट शोषणमुक्त समाजको निर्माण सम्भव नहुने निस्कर्षमा पुगेर नेपाली कम्युनिष्ट आन्दोलनको जग बसालेका थिए ।

वामपन्थी कार्यकर्ताहरूले सन् १९४९ अप्रिल २२ का दिन नेपाल कम्युनिष्ट पार्टीको गठन गरी १५ सेप्टेम्बर १९४९ मा त्यसको स्थापनाको घोषणा गरे ।’ यसबाट स्पष्ट हुन्छ, नेपालको कम्युनिष्ट आन्दोलन घरेलु सामन्तवाद र विदेशी हस्तक्षेपको विरोधमा खडा भएको आन्दोलन थियो । तर कालान्तरमा गएर यस आन्दोलनमा घुसपैठ बढ्दै गयो र यसको एउटा भङ्गालो आफ्नो मूलधर्मबाट उछिट्टिएर कहिल्यै रुसी त कहिल्यै भारतीय र अमेरिकी शासकका हातको खेलौना बन्न पुग्यो । यहाँनिर पुष्पलाल नेतृत्वले तय गरेको सङ्घर्षको मूल कार्यक्रम घरेलु सामन्तवाद र विदेशी हस्तक्षेप दुबैको विरोधका सन्दर्भमा नेकपाको पछिल्लो भूमिका नकारात्मक देखिन्छ । कम्युनिष्ट पार्टीहरूको मुख्य काम पिछडिएका वर्गलाई शोषणमुक्त गराउनु हो र समाजमा र राज्यमा समान हैसियत प्राप्त गर्न सङ्घर्षको नेतृत्व गर्नु हो । तर साढे सात दशकअघिको नेकपा स्थापना कालका सङ्घर्षका कार्यक्रम आज पनि उही रुपमा कायम छन् ।

खासगरी नेकपा माओवादीको तीब्र दबाबले अन्य दलहरू पनि घिस्रीयर (नेपालको संविधानमा) सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । तरपनि महिला, गरीब तथा दलित वर्गको उत्थान र आर्थिक सामाजिक हैसियतको सबलीकरण हुन सकिरहेको छैन । गणतन्त्र कम्युनिष्ट पार्टीकै कार्यक्रम हो । यहाँसम्म ठीकै छ किनकी नेपाल गणतन्त्र भएको छ । अर्थात् सामन्तवादको सबैभन्दा ठूलो प्रतिनिधि राजतन्त्र समाप्त भएको छ । तर प्रतिनिधित्वको प्रश्नमा नेकपाहरूको संगठनका तलदेखि माथिसम्म अवस्था सोचनीय देखिन्छ । पार्टीहरूले पार्टी र राज्य सन्चालनमा महिलाहरूको सहभागिता ३३ प्रतिसत पुर्याउन सकिरहेका छैनन् । दलितहरूको यथोचित प्रतिनिधित्वको प्रश्न झन् टडकारो हुँदै गएको छ । निश्चय नै सर्वोच्च नेताहरूका नजिक परेका केही सम्भ्रान्त महिला र दलित अनुहार हेर्न लायक छन् । तिनको व्यक्तिगत हैसियत केही हदसम्म बढे पनि तिनका समुदायको हालत गम्भीर किसिमले दयनीय छ ।

समाज र राष्ट्रलाई आर्थिक रूपमा अधिकतम स्वाधीन बनाउनु, राष्ट्रिय पूँजीको निर्माण र विकास गरी उद्योगधन्धालाई राज्यको संरक्षणमा हुर्काउनु र सामाजिक न्यायको सिद्धान्त अनुरुप न्यायपूर्ण वितरण प्रणाली स्थापना गर्नु कम्युनिष्ट पार्टीका अनिवार्य कामहरू हुन् । यी तीनवटै प्रश्नमा नेकपा असफल भएको छ । पहिलोमा निरन्तर बढ्दो नेपालको वैदेशिक ऋणलाई झार्ने कदम हुनुपर्ने थियो । त्यसो भएको देखिन्न । विदेशी ऋण पाएकामा गर्व गर्नेहरू शासनमा छन् । दैनिक आवश्यकताका वस्तुहरूमा निरन्तर मूल्यवृद्धि भइरहँदा पनि आफ्ना कार्यकर्तालाई सडकमा उतारेर जबर्जस्त दबाब सिर्जना गर्न सकिन्थ्यो । त्यो पनि गरिएन । भूमिको न्यायपूर्ण वितरणको अवस्था ज्यूँका त्यूँ छ । सुकुम्बासी समस्या उस्तै छ । यसरी आधारभूत काम गर्नबाट बन्चित भएका छन् कम्युनिष्ट पार्टीहरू । कम्युनिष्ट पार्टीहरूसँग जनमत त छ तर त्यस जनमतको कदर गर्ने विवेक उनीहरूसँग छैन ।

जुंगाको लडाईंले छुट्टिन्छन् । एक अर्कालाई गद्दार, प्रप्तिक्रियावादी, प्रतिगमनको मतियार, अहंकारी आदि भन्ने गर्छन् । मानौं शिष्टता तिनका शब्दावलीमा छैन । नेपालका कम्युनिष्ट पार्टीको पछिल्लो रुपरङ्ग हेर्न लायक छ । हारे पनि अध्यक्ष वा महासचिव हुन पाउने समाजवाद यहीं छ । यही भएर त प्रतिनिधिसभाको चुनाव हारेकालाई राष्ट्रियसभामा ल्याइन्छ । यसले कम्युनिष्ट पाटीहरूको विश्वसनीयतामाथि ठूलो प्रश्नचिन्ह उठाइरहेको छ । मुख्य कुरा सैद्धान्तिक हो र त्यहींनिर नेपालको कम्युनिष्ट आन्दोलनले धरातल छोडेको हुन्छ । लामो समय यौटै व्यक्तिको नेतृत्वमा रहँदा पार्टीमा आकर्षण रहँदैन । यहाँ चार पाँच दशकदेखि महासचिव वा अध्यक्ष भएका कम्युनिष्ट पार्टीहरू पनि छन् । ती वास्तवमै नेपाली कम्युनिष्ट आन्दोलनका समस्या हुन् । यिनले पार्टीको लोकतान्त्रिकरण हुन दिएका छैनन् । नेपालमा कम्युनिष्टको पक्षमा राम्रो जनमत छ भन्ने कुरा जगजाहेर छ । तर दुर्भाग्यपूर्ण कुरा के छ भने आन्दोलनका नेताहरूले त्यस तथ्यलाई आत्मसात गरेका छैनन् । कुनै बहानामा पनि उनीहरू फुट्ने गर्छन् । सहकार्य र मोर्चाका विषयमा पनि उनीहरूमा भ्रामक धारणाहरू छन् ।



97 Views

Comments